एमाले हुन पाउँदा बहुत खुसी लाग्यो : मुख्यमन्त्री शाक्य

काठमाडौँ, नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बलियो एमाले बनाउनका लागि सबैले फराकिलो मन बनाउने बेला आएको बताएकी छिन् ।उनले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना गर्न नेतृत्वलाई आग्रह गरिन् । ‘म विशेषगरी पार्टीको नेतृत्वलाई अपिल गर्छु, १२ वटा अन्तरपार्टी निर्देशन जुन जारी भएको छ, त्यसको अक्षरश पालना गरौँ । त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन,’ उनले भनिन्, ‘७५ जेठ २ मा जे अवस्था छ, उसैलाई नेतृत्व मानेर अगाडि बढौँ ।’

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले हिजोको एमाले बनाउनका लागि अब सबैले मन फराकिलो बनाउनुपर्नेमा जोड दिइन् । ‘आखिर के पाइन्छ ? के फाइदा छ ? विभाजन गरेर के फाइदा भयो र ? हामी अलग–अलग भएर फाइदा भयो र ? हामी अलग–अलग हुँदा हामीलाई होइन, हामीलाई कमजोर बनाउन चाहनेहरुलाई फाइदा भयो,’ उनले भनिन्, ‘त्यसकारण अब कुनै पूर्वाग्रह बिना, कुनै मनमुटाव बिना, बलियो एमाले, हिजोको एमाले बनाउनका लागि मन फराकिलो बनाउनैपर्छ । अब छाती फराकिलो बनाउने बेला आएको छ । हिजो जतिसुकै कमजोर भएको भए पनि त्यो कुरा सिद्धियो । अब फेरि पनि यो मुलुकको नेतृत्व गर्ने शक्तिको रुपबाट नेकपा एमालेलाई अघि बढाउनुपर्छ । मलाई यसमा विश्वास छ ।’
उनले ०७८ साल जेठ १ गते एमाले एकताका लागि कार्यदल बन्दा धेरै खुसी लागेको सुनाइन् । ‘साँच्चिकै भन्नुपर्दा खेरि ०७८ जेठ १ गते म साँच्चै नै खुसी भएँ । त्यो दिन दश जना कमरेडहरुको एउटा कार्यदल बन्यो । त्यो कार्यदलले दश बुँदे प्रस्ताव अघि सार्‍यो । त्यो प्रस्ताव तयार भएपछि अब त हामी आफ्नै घरभित्र पस्न पाइने भो भन्ने लाग्यो । मैले त हिजोका सबै कुराहरु बिर्सिएँ,’ मुख्यमन्त्री शाक्यले भनिन्, ‘……अनि फेरि पनि नेकपा एमाले हुन पाउँदा खेरि मलाई बहुत खुसी लाग्यो । यो मलाई साँच्चिकै परेको पीडा पोख्न मन लाग्यो ।’

उनले अब यस्तो विभाजन कहिल्यै नहोस् भन्ने कामना समेत गरिन् । ‘अब त यस्तो नेकपा एमालेभित्र कहिल्यै पनि नहोस् । टुक्रिने, फुट्ने, विभाजित हुने र नेकपा एमाले एकताबद्ध भएको हेर्न चाहने कुरा कसरी सम्भव छ र ? । त्यसैले अब यस्तो कहिल्यै पनि नहोस्,’ उनले भनिन् ।

नेतृ शाक्यले अब बलियो र विचारयुक्त एमाले बनाउने योजनासहित काम गर्नुपर्ने बेला भएकोमा जोड दिइन् । ‘०२७/२८ सालतिरको कुरा हो । झापा आन्दोलनबाट काठमाडौं जिल्ला पनि प्रभावित भयो । त्यहीबेलादेखि काठमाडौं जिल्ला प्रगतिशील विचारबाट, वामपन्थी विचारबाट प्रभावित हुँदै आएको हो,’ उनले भनिन्, ‘प्रतिक्रियावादीहरु भनेका केही होइनन्, ती भनेका कागजका बाघ मात्रै हुन् । म त्यो बेला यही विचारबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा अघि बढेकी थिएँ । अहिले पनि म युवा साथीहरुलाई यही आग्रह गर्दछु ।’ उनले कम्युनिष्टहरुको हृदय विशाल हुनुपर्ने भन्दै त्यो विशाल हृदय र संघर्षबाट मात्रै कम्युनिष्ट आन्दोलन अघि बढ्ने बताइन् ।