आज १८औँ लोकतन्त्र दिवस : कसरी आएको थियाे नेपालमा लाेकतन्त्र ?

काठमाडौं । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ । २०६३ साल बैसाख ११ आजकै दिन २४० वर्षको राजतन्त्रको विरूद्व भएको जनयुद्ध र जनआन्दोलनको बलमा लाेकतन्त्र स्थापना भएको थियाे ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागअनुसार विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए। तानाशाही व्यवस्था अन्त्य भएर जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

त्यसअघि तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीनजनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन जनयुद्धमा सहभागी नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाउँदै आइएको छ । जुन दिन संसद् पुनःस्थापना भयो यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्न पुग्यो।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो। यसलाई नेपाली म्याग्नाकार्टा समेत भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएर आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।

संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्थामा देश गएको छ। तीन तहको सरकार बनेका छन्। गाउँगाउँमा अधिकार पुगेका छन्।परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।

त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो । तर अझै पनि धेरै नागरिकले व्यवस्था फेरिए पनि देश र आफ्नो अवस्था उस्तै रहेको भन्दै गुनासो गरिरहेका छन् ।