जाजरकोटमा पहिरोको बितण्डा : रिसाङमा एक जनाको मृत्यु, ३ बेपत्ता

जाजरकोट, अविरल वर्षाका कारण  विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पहिरोमा परी भेरी नगरपालिका २ रिसाङमा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा गएको पहिरोमा परी स्थानीय केदार कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका कार्कीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–२ फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र अर्का एक जना रहेका छन् । उनीहरूको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा परी सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अविरल वर्षाका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नम्बर ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी क्षेत्रसमेत जोखिममा परेका छन् । त्यस्तै वडा नम्बर १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्ती पनि बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।

लगातारको वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो । पहिरोका कारण प्रभावित क्षेत्रमा थप क्षतिको जोखिमसमेत रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार आइतबार बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गर्ने तयारी गरिएको छ । बेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार तथा प्रभावित बस्तीको अवस्थाबारे जानकारी संकलन गर्न सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताएका छन् ।

बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न ग्रामीण बस्तीमा त्रास बढेको छ । लगातार वर्षा भइरहेकाले जोखिममा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।