कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । यस्तै दुई मत तटस्थ रहेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले उनलाई विश्वासको मत दिएका हुन्। शाहीले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेश सभा समक्ष पत्र दर्ता गराएका थिए।

बुधबार उक्त विश्वासको प्रस्तावमाथि छलफल भएको थियो। ४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित १०, नेपाली कम्युनिस्ट पार्टीका १४, कांग्रेसको १५, राप्रपाको १ जना सांसद छन्।
नेपाली कांग्रेसले विपक्षमा मतदान गरेको थियो । मतदानमा ३६ जना सांसद सहभागी थिए। जसमध्ये कांग्रेसका राजीवविक्रम शाह, जानकी सिंह र एमालेका विनोदकुमार शाह संसद्मा सहभागी थिएनन् । विनोदकुमार शाह बिरामी भएर उपस्थित हुन नसकेको कुरा दल नेता यामलाल कँडेलले संसद्बाट नै जानकारी गराएका थिए ।
तटस्थ रहनेमा पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राप्रपाकी सांसद सन्तोषी शाही रहेकी छिन् । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ दिनपछि संसद्बाट विश्वासको मत लिएका हुन्।
यद्यपि सरकारलाई पूर्णता भने दिन सकिरहेका छैनन् । उनले आजका मितिसम्म आफ्नो मन्त्रिपरिषद्मा एक जना पनि सदस्य नियुक्त गर्न सकेका छैनन्।

