पार्टी रूपान्तरणको अनिवार्य प्रश्न

विषय प्रवेश

राजनीतिक पार्टी केवल निर्वाचन लड्ने, सत्ता प्राप्त गर्ने वा संगठन विस्तार गर्ने संस्था मात्र होइन। एउटा राजनीतिक पार्टी निश्चित विचार, नीति, कार्यदिशा, कार्यनीति र कार्यक्रमसहितको उद्देश्य र सामाजिक रूपान्तरणको दृष्टिकोण बोकेको संगठित राजनीतिक शक्ति हो। त्यसैले पार्टीको चरित्र केवल दस्तावेज र घोषणापत्रले मात्र निर्धारण गर्दैन; पार्टीका नेता–कार्यकर्ताको दैनिक व्यवहार, जनतासँगको सम्बन्ध, संगठन सञ्चालनको शैली र निर्णय प्रक्रियाले पनि त्यसको वास्तविक चरित्र निर्धारण गर्छ।

यही सन्दर्भमा, नोकरशाही प्रवृत्ति पार्टी जीवनभित्र देखापर्ने गम्भीर राजनीतिक समस्या हो। नोकरशाही प्रवृत्ति भन्नाले पद, अधिकार, कार्यालय, प्रक्रिया र संगठनात्मक संरचनालाई जनताको सेवा र राजनीतिक उद्देश्य पूरा गर्ने साधनका रूपमा होइन, व्यक्तिगत प्रभाव, सुविधा, नियन्त्रण र प्रतिष्ठाको स्रोतका रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई बुझिन्छ।

व्यक्तिवादी अराजकता र नोकरशाही प्रवृत्ति सुरुमा साना व्यवहारजस्ता देखिन्छन्—जस्तै जनताभन्दा कार्यालयलाई प्राथमिकता दिने, कार्यकर्ताभन्दा पदलाई ठूलो ठान्ने, छलफलभन्दा आदेशलाई प्राथमिकता दिने र आलोचनाभन्दा प्रशंसा रुचाउने। तर यस्ता व्यवहारहरू क्रमशः संस्थागत हुँदै गए भने पार्टीको राजनीतिक जीवन नै कमजोर बन्न पुग्छ। त्यसैले व्यक्तिवादी अराजकता र नोकरशाही प्रवृत्तिको विरोध केवल विरोध मात्र होइन; यो राजनीतिक संस्कार, वर्गीय दृष्टिकोण, संगठनात्मक ढाँचा र जनसम्बन्धसँग जोडिएको वैचारिक प्रश्न हो।

१. पार्टीको जीवन

आज क्रान्तिकारी आन्दोलनमा व्यक्तिवादी अराजकता र नोकरशाही प्रवृत्ति जबर्जस्त रूपमा देखापर्दै आएका छन्। यस प्रकारका दृष्टिकोणहरूले क्रान्तिकारी आन्दोलनमा टुटफुट ल्याएका छन् र क्रान्तिलाई नै धराशायी बनाएका छन्। यस्ता प्रवृत्तिहरू एकै दिनमा पैदा हुँदैनन्; यसका पछाडि राजनीतिक, सामाजिक, संगठनात्मक र व्यक्तिगत कारणहरू हुन्छन्।

पदलाई जिम्मेवारीभन्दा पनि विशेषाधिकारका रूपमा बुझ्ने मानसिकता यसको प्रमुख कारण हो। पार्टीमा कुनै जिम्मेवारी प्राप्त गरेपछि त्यो जिम्मेवारी जनताको सेवा, संगठनको निर्माण र राजनीतिक उद्देश्य पूरा गर्ने माध्यम हो भन्ने चेतना कमजोर भयो भने पद प्रतिष्ठा र शक्तिको स्रोत बन्न पुग्छ। त्यसपछि ‘म जिम्मेवार छु’ भन्ने भावनाको ठाउँमा ‘म ठूलो हुँ’ भन्ने घमण्डी मानसिकता हाबी हुन्छ।

राजनीतिक कार्यकर्ता जनताको दैनिक जीवन, दुःख, संघर्ष र समस्याबाट टाढिँदै गएपछि उसको राजनीतिक दृष्टिकोण पनि क्रमशः कार्यालयमुखी बन्छ। जनताको घर, बस्ती, खेत, श्रमस्थल र संघर्षबाट प्राप्त हुने वास्तविक ज्ञानको ठाउँमा कार्यदिशा, कार्यनीति र मालेमावादी (मार्क्सवाद–लेनिनवाद–माओवाद) दृष्टिकोणबाट विमुख हुने स्थिति आउँछ। नेतृत्वले कार्यकर्ता र जनतालाई झुक्याउन दर्शन तथा संगठनमा नयाँ–नयाँ तर्क र राजनीतिक प्रतिवेदनमा अनावश्यक जटिल शब्दावलीको प्रयोग गर्दै केही समयका लागि सिंगो पार्टी संगठनलाई अलमल्याउने काम गर्छ। यिनै व्यवहार संसदीय संशोधनवाद, आत्मकेन्द्रित व्यक्तिवाद र नोकरशाही प्रवृत्तिका चरम रूप हुन्।

यो दृष्टिकोणले पार्टी संगठनभित्रको आलोचना र आत्मालोचनाको संस्कृतिलाई अत्यन्त कमजोर बनाउँछ। यी प्रवृत्तिका कारण नेतृत्वको आलोचना गर्न कार्यकर्ता डराउँछन्। जहाँ प्रश्न उठाउनुलाई अनुशासनहीनता ठानिन्छ र जहाँ गल्ती स्वीकार गर्नुलाई कमजोरी मानिन्छ, त्यहाँ संसदीय संशोधनवादको रुझान, व्यक्तिवादी अराजकता र नोकरशाही प्रवृत्तिको जबर्जस्त रूप देखा पर्दै जान्छ।

परन्तु अर्को जबर्जस्त प्रवृत्ति भनेको नेपालको भू–राजनीतिक चलखेलको नाममा देखापर्छ। पार्टी नेतृत्वले कमिटीमा छलफल नै नगरी ‘सीमापार गएर जसलाई भेट्दा पनि हुन्छ’ र ‘दूतावासमा गएर जे गर्दा पनि हुन्छ’ भन्ने तर्क गर्नाले सिंगो पार्टी कमिटीहरूमा अन्योल र भ्रम सिर्जना गर्छ। यसले गर्दा नेतृत्वप्रतिको विश्वास अविश्वासमा बदलिन पुग्यो। नतिजास्वरूप, सिंगो पार्टी कमिटी नेतृत्वप्रति समर्पित हुन सकेन।

क्रान्तिकारी आन्दोलन र संघर्षका कार्यक्रममा ‘नेतृत्वको दृष्टिकोण नै ठीक छैन, किन दुःख पाउने?’ भन्नेजस्ता मनोविज्ञानले क्रान्तिकारी पंक्तिमा घर गर्दै आयो र पार्टी एकढिक्का हुन सकेन। यसको मूल कारण नेतृत्व पंक्तिमा देखा पर्दै आएको आत्मसुरक्षावाद, नोकरशाही र व्यक्तिवादी अराजक प्रवृत्ति नै हो।

यस्ता प्रवृत्तिका कारण निर्णय प्रक्रियामा व्यापक सहभागिता नहुनु र संगठनभित्र पारदर्शिताको कमी हुनु व्यक्तिवादी अराजकता र नोकरशाहीकरणका महत्त्वपूर्ण आधार हुन्। पार्टीभित्र नोकरशाही, व्यक्तिवादी अराजकता र संसदीय संशोधनवादी प्रवृत्तिले राजनीतिक संगठनभित्र विभिन्न रूप धारण गरेका छन्।

संगठनात्मक निर्णयलाई सामूहिक छलफल, बहस र कमिटीका बैठकका निर्णयबाट निकाल्नुभन्दा माथिबाट निर्देशन दिने र तलका कार्यकर्तालाई केवल कार्यान्वयनकर्ताका रूपमा मात्र हेर्ने शैलीले संगठनलाई सक्रिय राजनीतिक शक्तिभन्दा आदेश पालना गर्ने ढाँचामा परिणत गरिदियो।

जनताका समस्या सुन्न समय नहुने तर बैठक, समारोह र औपचारिक कार्यक्रममा उपस्थित हुन समय निकाल्ने प्रवृत्ति नोकरशाही व्यक्तिवादी अराजकताको अर्को रूप हो। पार्टीका राजनीतिक र वैचारिक कार्यकर्ताको वास्तविक परीक्षा कार्यालयमा होइन, जनताको बीचबाट हुन्छ।

आलोचना र सुझावहरूलाई व्यक्तिगत अपमानका रूपमा लिने, असहमति राख्ने कार्यकर्तालाई टाढा बनाउने र प्रशंसा गर्ने कार्यकर्तालाई मात्र नजिक राख्ने प्रवृत्तिले संगठनमा चाकडीवादी संस्कृतिको जन्म दियो। जहाँ सत्य बोल्नेभन्दा खुसी पार्ने कार्यकर्ता पुरस्कृत हुन्छन्, त्यहाँ संगठनले वास्तविकता होइन, भ्रम उत्पादन गर्न चाटुकारहरूलाई स्थान दिन्छ।

पार्टीका हरेक बैठक, भेला र सम्मेलनमा दर्शन, राजनीति, विचार, संगठन र संघर्षमा मालेमावादी दृष्टिकोणभन्दा नचाहिँदो जार्गन (जटिल भ्रामक शब्द) को प्रयोग गर्ने प्रवृत्ति मालेमावादी दृष्टिकोणको विरुद्धमा छ।

अर्को गम्भीर विषय नेतृत्व महाधिवेशन, भेला र बैठकका निर्णयविपरीत प्रस्तुत हुनु हो। आफूभित्रको असक्षमतालाई लुकाउन कागजी सक्रियता देखाउने प्रवृत्ति संसदीय संशोधनवाद र नोकरशाही व्यक्तिवादी अराजकताको पराकाष्ठा हो।

महाधिवेशन, भेला र सम्मेलनहरूमा प्रतिवेदन त लेखिन्छन्, तर ती दस्तावेज र प्रतिवेदनहरूले जनताको जीवनमा के परिवर्तन ल्याए भन्ने मूल प्रश्न नै हराउँछ। यसले संगठनलाई कागजी सक्रियतामा सीमित बनाउँछ र नोकरशाही एवं व्यक्तिवादी अराजकता हाबी हुन्छ। यस्ता प्रवृत्तिले प्रायः कामको वास्तविक परिणामभन्दा प्रक्रियाको प्रदर्शनलाई ठूलो बनाउँछन्।

जिम्मेवारीभन्दा अधिकार खोज्नु र पदसँग जोडिएका सुविधाहरू रोज्नु, तर त्यससँग जोडिएको जवाफदेहिता नलिनु नोकरशाही व्यक्तिवादी मानसिकताको महत्त्वपूर्ण पक्ष हो। यसले पार्टी संगठनमा ठूलो क्षति पुर्‍याउँछ। यस्ता प्रवृत्तिले नेता–कार्यकर्ता र जनताबीचको सम्बन्ध कमजोर बनाउँछन्। जब जनताले क्रान्तिकारी पार्टीलाई आफ्नो आवाज उठाउने माध्यमका रूपमा हेर्न छाडेर अर्को ‘शक्ति केन्द्र’ वा शासकका रूपमा बुझ्न थाल्छन्, तब पार्टीको नैतिक र राजनीतिक आधार समाप्त हुन्छ।

यसबाट संगठनभित्रको क्रान्तिकारी सिर्जनशीलता मरेर जान्छ। तलका कार्यकर्ताहरूले वैचारिक विकास गर्न, नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ राजनीतिक पहल लिन छाड्छन्। अनि पार्टी एउटा जीवित राजनीतिक संगठनबाट औपचारिक संरचनामा परिणत हुन्छ।

त्यसैगरी, नोकरशाही व्यक्तिवादी प्रवृत्तिले योग्यताभन्दा निकटता, योगदानभन्दा पहुँच र विचारभन्दा व्यक्तिगत सम्बन्धलाई महत्त्व दिन थाल्छ। संगठनमा इमानदार, आलोचनात्मक र सिर्जनशील कार्यकर्ताभन्दा चाकडी गर्न सक्ने व्यक्ति अगाडि आउँदा नेतृत्व, संगठन र संघर्ष धराशायी बन्दै जान्छन्।

यस्ता प्रश्नहरूले संगठन, सत्ता र नेतृत्व कसका लागि हो भन्ने कुराको फैसला गर्छन्। यदि नेतृत्व जनताको सेवाका लागि हो भने पदले सुविधा होइन, जिम्मेवारी बढाउनुपर्छ। यदि संगठन सामाजिक रूपान्तरणका लागि हो भने कार्यालय जनताबाट दूरी बढाउने होइन, जनतासँग अझ नजिक जाने माध्यम बन्नुपर्छ। यदि पार्टी संगठनमा जनवादी केन्द्रीयता र राजनीतिक संस्कार निर्माण गर्ने हो भने आलोचना, बहस र असहमतिलाई व्यवस्थापन गर्न सक्ने क्षमता राख्नुपर्छ।

यस अर्थमा व्यक्तिवादी अराजकता, संसदीय संशोधनवाद र नोकरशाही प्रवृत्तिविरुद्धको राजनीतिक–वैचारिक संघर्ष भनेको पार्टीलाई जनतासँग जोड्ने, संगठनलाई जनवादी बनाउने र नेतृत्वलाई जवाफदेही बनाउने संघर्ष हो।

२. रूपान्तरणको चुनौती

आज कम्युनिस्ट आन्दोलनमा रूपान्तरणको चुनौती गम्भीर रूपमा देखापरेको छ। के यी समस्याहरूलाई हल गर्दै हामी रूपान्तरण हुन सक्छौँ त? भन्ने विषयमा आज कम्युनिस्ट क्रान्तिकारी आन्दोलनभित्र ठूलो बहस भइरहेको छ।

नेपालमा धेरै कम्युनिस्ट पार्टीहरू संसदीय संशोधनवादमा फसेर र जनताका एजेन्डा छोडेर पतन भएका छन्। सडकमा रहेका कम्युनिस्ट पार्टीहरूले रूपान्तरण हुने कोसिस गरे तापनि ती कोसिसहरू सफल हुन सकेका छैनन्। बरु रूपान्तरणको साटो विभाजनले तीव्रता पाएको छ। क्रान्तिकारी एकता र रूपान्तरणमा चुनौती खडा भएकाले क्रान्तिकारी आन्दोलन उठ्न सकेको छैन।

क्रान्तिकारी आन्दोलन उठ्न नसकेकै कारण पूँजीवादी शक्तिहरूले भदौ २३–२४ गते ‘जेन जी’ को आवरणमा केही हदसम्म आफ्ना स्वार्थ पूरा गरे। पुरानै दलाल संसदीय व्यवस्थामा नाम र व्यक्ति मात्र नयाँ ल्याएर दलाल संसदीय पूँजीवादी व्यवस्थाको संकट टाल्ने काम भयो। तर यो पूँजीवादी संकट केही समयका लागि मात्र टालिएको हो। यदि क्रान्तिकारी पार्टी एकताबद्ध र रूपान्तरित भयौँ भने क्रान्तिकारी आन्दोलन उठाउन धेरै समय लाग्दैन।

आजको रूपान्तरणको खाँचो भनेको जनवादी केन्द्रीयता, वैचारिक विचलन र नेतृत्वको व्यक्तिवादी अराजकता एवं नोकरशाही प्रवृत्तिका कारण सिर्जित समस्याहरू हल गर्नु हो। पार्टीभित्रको वैचारिक अन्तरविरोधलाई दबाउने, खुला बहस, तथ्यको परीक्षण, आलोचना–आत्मालोचना र सामूहिक निर्णयको प्रक्रियाबाट समाधान नखोज्ने र सिद्धान्तबाट विचलनलाई सामान्य असहमति भनेर ढाकछोप गर्ने, त्यसको सामाजिक, राजनीतिक एवं वर्गीय आधार पहिचान नगरी वैचारिक संघर्ष सञ्चालन नगर्ने प्रवृत्तिहरूलाई रोक्नुपर्छ।

पार्टी संगठन व्यक्तिको वरिपरि घुम्नु र सही विचार, सामूहिक नेतृत्व, जनवादी संगठन र क्रान्तिकारी अनुशासनको एकतामा आधारित नहुनु रूपान्तरणको समस्या हो। पार्टीभित्र जनवादी केन्द्रीयतालाई केवल संगठन सञ्चालनको औपचारिकतामा सीमित राखियो, विचार, बहस, निर्णय र अनुशासनबीचको द्वन्द्वात्मक सम्बन्धलाई व्यवस्थित गर्न सकिएन।

नीति, विचार र कार्यदिशाका विषयमा खुला र स्वच्छ वैचारिक बहस नगर्ने, फरक मतहरूलाई व्यवस्थित गर्न नसक्ने, आलोचनात्मक परीक्षण तथा सामूहिक निर्णयबाट निष्कर्षमा पुग्न नसक्ने र निर्णय भइसकेपछि संगठनात्मक अनुशासनका साथ कार्यान्वयन नगर्ने व्यवहारले जनवादी केन्द्रीयता कमजोर हुँदै गएको छ।

पार्टी संगठनमा देखा परेका समस्यालाई नेतृत्वले ‘मेरो मान्छे, तेरो मान्छे’ भन्दै ढाकछोप गर्नु नै नेतृत्व वैचारिक रूपमा मार्क्सवाद–लेनिनवाद–माओवादका मूल मान्यताबाट विचलित हुनु हो। यस्ता समस्याले पार्टीको राजनीतिक दिशा, संगठनात्मक संस्कृति र वर्गीय चरित्रलाई नै प्रभावित पार्छन्।

नेतृत्वले आफ्नो वैचारिक विचलनलाई खुला र पारदर्शी बहसको विषय बनाउनुभन्दा ढाकछोप गर्न अपारदर्शी प्रचार, भ्रम, मिथ्या सूचना र राजनीतिक षड्यन्त्रको सहारा लिन थालेपछि जनवादी केन्द्रीयताको सारतत्त्व कमजोर हुन पुग्छ।

तर द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्दा पार्टीभित्रको मतभेद आफैँमा समस्या होइन। समाज र पार्टी संगठन गतिशील हुन्छन्; त्यसैले विचारहरूबीचको द्वन्द्व, अन्तरविरोध र संघर्ष स्वाभाविक हुन्छ। यस्ता अन्तरविरोधलाई विधि र विधानबाट समाधान गरिनुपर्छ। सही मार्क्सवादी पद्धतिले अन्तरविरोधलाई लुकाउँदैन; त्यसलाई पहिचान गर्छ, त्यसको वस्तुगत आधार खोज्छ र खुला वैचारिक संघर्ष तथा सामूहिक छलफलबाट समाधानको बाटो पहिल्याउँछ।

जब कुनै नेता पार्टीको मूल वैचारिक आधारबाट विचलित हुन्छ र आफ्ना असहमतिहरूलाई खुला, पारदर्शी र वैचारिक बहसमार्फत राख्नुको साटो गुटबन्दी, शक्ति–सञ्चय, अपारदर्शी प्रचार र आन्तरिक षड्यन्त्रको बाटो रोज्छ, त्यहाँ अन्तरविरोध वैचारिक रूपान्तरणको माध्यम बन्नुको सट्टा संगठनात्मक संकटको कारण बन्न पुग्छ।

यसरी विचारको स्थानमा व्यक्ति, सिद्धान्तको स्थानमा स्वार्थ र सामूहिक निर्णयको स्थानमा गुटगत हित हाबी हुँदै जानुजस्ता समस्याको हल नगरेसम्म कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको रूपान्तरण हुन सक्दैन।

त्यसैले नोकरशाही प्रवृत्तिको विरोध भाषणमा मात्र गरेर पुग्दैन; संगठनात्मक व्यवहारमै परिवर्तन ल्याउनुपर्छ। नेता–कार्यकर्ताले निश्चित समय जनताको बीचमा बिताउने, उनीहरूका समस्या सुन्ने र समाधानका लागि राजनीतिक पहल गर्ने संस्कार विकास गर्नुपर्छ।

महत्त्वपूर्ण निर्णयहरू सामूहिक छलफल, बहस, तथ्य र तर्कका आधारमा गरिनुपर्छ। जनवादी केन्द्रीयता लागू गर्दै त्यसैलाई संगठनको शक्ति मान्नुपर्छ। आलोचना गर्ने व्यक्तिलाई शत्रु होइन, संगठन सुधार्ने सहयोगीका रूपमा हेर्नुपर्छ। तर आलोचना पनि तथ्य, तर्क र राजनीतिक उद्देश्यमा आधारित हुनुपर्छ।

कसले कति ठूलो पद पायो भन्नेभन्दा कसले संगठन, जनता र राजनीतिक उद्देश्यका लागि कति योगदान गर्‍यो भन्ने आधारमा कार्यकर्ताको मूल्याङ्कन हुनुपर्छ। निर्णय, स्रोत, जिम्मेवारी र परिणामबारे संगठनभित्र स्पष्टता हुनुपर्छ। जिम्मेवारी प्राप्त गर्ने व्यक्तिले त्यसको जवाफदेहिता पनि स्वीकार गर्नुपर्छ।

नेतृत्व र कार्यकर्ताबीच अनावश्यक दूरी बढाउने जीवनशैलीले संगठनात्मक संस्कारमा असर गर्छ। जनताको जीवनसँग जोडिएको राजनीतिक नेतृत्वले आफ्नै व्यवहारबाट उदाहरण प्रस्तुत गर्नुपर्छ।

हरेक नेता–कार्यकर्ताले आफैँलाई केही प्रश्न सोध्न आवश्यक छ—म जनताको कुरा बढी सुन्छु कि आफ्नै कुरा बढी सुनाउँछु? म आलोचना स्वीकार गर्छु कि आलोचक खोज्छु (खेद्छु)? म पदलाई जिम्मेवारी ठान्छु कि सुविधा? मेरो राजनीतिक सक्रियता जनताको बीचमा बढी छ कि बैठक र कार्यालयमा? म निर्णय गर्दा अरूको विचार सुन्छु कि पहिल्यै निर्णय गरेर अनुमोदन मात्र खोज्छु? मसँग असहमत हुने कार्यकर्तालाई पनि सम्मानपूर्वक सुन्न सक्छु कि सक्दिनँ? मेरो नेतृत्वले संगठनमा आत्मविश्वास बढाइरहेको छ कि डर? मैले पाएको जिम्मेवारीको परिणाम जनताले महसुस गरेका छन् कि छैनन्?

यी प्रश्नहरूको इमानदार उत्तर नै आत्मसुधारको बाटो हो।

नोकरशाही र आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्तिविरुद्ध द्वन्द्ववादी हुँदै पार्टीको जीवन संगठन, संघर्ष र जनताका बीचबाट जीवित हुन्छ, क्रान्तिकारी आन्दोलन टिकिरहन्छ र विचारलाई स्पातिलो (मजबुत) बनाउन सकिन्छ भन्ने मान्यतालाई नै रूपान्तरणको विषय बनाउनुपर्छ।

वास्तविक शक्ति जनताको विश्वास, कार्यकर्ताको सक्रियता, विचारको स्पष्टता र संगठनको नैतिक चरित्रमा हुन्छ। व्यक्तिवादी नोकरशाही प्रवृत्तिले नेतृत्व र जनताबीच दूरी पैदा गर्छ भने जनतामुखी राजनीतिक संस्कारले त्यो दूरी घटाउँछ। त्यसैले हाम्रो लक्ष्य केवल नोकरशाही नबन्ने मात्र होइन; हाम्रो लक्ष्य जनतामुखी, उत्तरदायी, संघर्षशील र परिणाममुखी संगठन निर्माण गर्ने हुनुपर्छ।

नेतृत्वको अर्थ माथि बस्नु होइन, अगाडि बढेर नेतृत्व गर्नु हो। पदको अर्थ अधिकार उपभोग गर्नु होइन, जिम्मेवारी बहन गर्नु हो । कार्यकर्ताको अर्थ आदेश पर्खनु होइन, राजनीतिक चेतना र पहलका साथ जनताको बीचमा काम गर्नु हो। पार्टीको अर्थ केही व्यक्तिको संरचना होइन, सामूहिक विचार, सामूहिक संघर्ष र जनताको परिवर्तनको आकांक्षालाई संगठित गर्ने राजनीतिक शक्ति हो।

त्यसैले आजको आवश्यकता स्पष्ट छ—कार्यालयमुखी होइन, जनतामुखी बनौँ। आदेशमुखी होइन, सहभागितामूलक बनौँ। पदकेन्द्रित होइन, जिम्मेवारीकेन्द्रित बनौँ। चाकडी होइन, सत्य र आलोचनाको संस्कार विकास गरौँ। कागजी उपलब्धि होइन, जनताले अनुभूति गर्ने परिणाम खोजौँ। यस्ता प्रवृत्तिका विरुद्ध वैचारिक संघर्ष गर्दै क्रान्तिकारी पार्टीको निर्माण गरौँ।

अन्त्यमा

पार्टीको जीवन र रूपान्तरणको मुख्य सार भनेकै—नेतृत्व साध्य होइन, साधन हो। लक्ष्य व्यक्तिगत सत्ता वा कुनै नेतृत्वको स्वार्थपूर्ति होइन; समाजको वस्तुगत परिवर्तन र श्रमजीवी वर्गको मुक्ति हो।

त्यसैले नेतृत्वको मूल्याङ्कन व्यक्तिपूजा वा गुटगत निष्ठाबाट होइन, उसको विचार, वर्गीय दृष्टिकोण, राजनीतिक कार्यदिशा, व्यवहार र पार्टीको मूल सिद्धान्तप्रतिको प्रतिबद्धताबाट हुनुपर्छ।

जनवादविनाको केन्द्रीयता नोकरशाहीमा परिणत हुन्छ भने केन्द्रीयताविनाको जनवाद अराजकता र गुटबन्दीमा विघटन हुन्छ। त्यसैले मार्क्सवाद–लेनिनवाद–माओवादको पार्टी संगठन र क्रान्तिको जीवन यी दुवै पक्षको द्वन्द्वात्मक एकतामा निर्भर हुन्छ।

तसर्थ, सिद्धान्तबाट विचलनलाई सामान्य असहमति भनेर ढाकछोप गर्ने होइन; त्यसको सामाजिक, राजनीतिक र वर्गीय आधार पहिचान गर्दै वैचारिक संघर्ष सञ्चालन गर्नुपर्छ। किनकि पार्टीको शक्ति व्यक्तिको वरिपरि होइन; सही विचार, सामूहिक नेतृत्व, जनवादी संगठन र क्रान्तिकारी अनुशासनको एकतामा निहित हुन्छ। अनि मात्रै नयाँ आधारमा नयाँ क्रान्तिकारी एकता कायम हुँदै जान्छ।

‘परिवारबाट बाहिर निस्क र परिवारलाई मजबुत पार’ भन्ने माओको दोहोरो नीति यहाँ पनि लागू हुन्छ। यो काम कडा वर्गसंघर्ष एवं आन्तरिक संघर्षको बीचबाट मात्रै सम्पन्न हुन सक्छ र यहाँ पनि एकता–संघर्ष–रूपान्तरणको द्वन्द्ववाद लागू हुन्छ। यिनै विषयहरू पार्टीको जीवन र रूपान्तरणको सैद्धान्तिक हल हुन्, जसलाई हल गर्दै आज हामीले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनुपर्छ।

लेखक नेकपा (बहुमत) का ४ नम्बर ब्युरो इन्चार्ज हुनुहुन्छ।