कतारका राजा थानी नेपाल आउँदै, आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (मंगलबार) दुई दिने नेपाल आउँदै छन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

कतारको प्रतिनिधि मण्डलमा १० जना कतारी मन्त्री समेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ । कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उनी दुई दिने बंगलादेशको भ्रमणको सिलसिलामा सोमबार ढाका पुग्नेछन् ।

कतारका अमिरको बंगलादेश भ्रमणको बेला कतार र बंगलादेशबीच छ वटा सम्झौतापत्र र पाँच वटा समझदारीपत्रमा हस्ताक्षर हुने बंगलादेशका मिडियाले उल्लेख गरेका छन् । आज बंगलादेशको ढाकाबाट कतारका अमिर थानी काठमाडौं आउनेछन् । कतारका अमिरको नेपाल भ्रमणका समयमा नेपाल र कतारबीच सुरुमा नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको थियो । ‘कतिवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भन्ने अझै टुंगो लागिसकेको छैन । आधा दर्जनभन्दा बढी नै सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुन्छ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

दुई देशबीच कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ । कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको दाबी स्रोतको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी नेपाल आउन लागेका हुन् । कतारका अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

कतारका अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी वैशाख १२ गते काठमाडौंबाट फर्कने छन् । यसअघि कतारका अमिर थानीले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए । भ्रमणको सम्पूर्ण तयारी सकिएपछि काठमाडौंस्थित कतारको दूतावासले कात्तिक १३ गते परराष्ट्र मन्त्रालयलाई भ्रमण स्थगित गरिएको जानकारी दिएको थियो ।

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले त्यतिबेला परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको थियो । त्यसपछि अहिले पुनः कतारका अमिर थानीको नेपाल भ्रमण मिति तय गरिएको हो । सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो ।

जेठा दाइ शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा थानी उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । उनले सन् २०२२ मा कतारमा फिफा विश्वकपजस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रियस्तरमा निकै माथि पुर्‍याएका थिए । उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए । यिनै कतारका अमिर थानी आज नेपाल आउन लागेका हुन् । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरूबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगेको छ । यो अवधिमा नेपालबाट कतारमा उच्चस्तरीय भ्रमणहरू भए पनि कतारबाट हुन सकेको थिएन । कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालले सन् २००० मा कतारमा आफ्नो दूतावास स्थापना गरेको थियो । कतारले सन् २०११ मा नेपालमा दूतावास खोलेको थियो । नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्दै आएका छन् । संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले २१ मार्च २००५ मा कतार भ्रमण गरी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०११ अक्टोबर १०–१३ सम्म कतारको औपचारिक भ्रमण गरेका थिए । यसअघि तत्कालीन श्रममन्त्री रमेश लेखकले सन् २००८ जनवरी २० मा कतारको भ्रमण गरी श्रम सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । परराष्ट्रमन्त्रीको रूपमा उपेन्द्र यादवले पनि सन् २००९ मार्च १४–१६ सम्म कतारको भ्रमण गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सन् २००८ नोभेम्बर २८ देखि डिसेम्बर ३ सम्म कतारको भ्रमण गरेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सन् २०१४ को मार्चमा कतारको निजी भ्रमण गरेका थिए । परराष्ट्रमन्त्रीको हैसियतमा प्रकाशशरण महतले पनि सन् २०१७ जनवरीमा कतारको भ्रमण गरेका थिए । यस्तै, २०७५ कार्तिकमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने भ्रमण गरेकी थिइन् । कतारबाट भने सन् २०१५ को अप्रिलमा श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुल्लाह सलेह मुबारक अल–अलखुलाफीले नेपाल भ्रमण गरेका थिए । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले गत मंसिर महिनामा नेपालको भ्रमण गरेका थिए ।