बुवा शब्दको महत्व र कुशे औँशी

बुवाको मुख हेर्ने दिन !

आज भाद्र ३ गते कृष्ण औँसी अर्थात वुवाकोे मुख हेर्ने विषेश दिन ! पिताको सम्मान, सम्झना अनि विषेश समर्पण गर्ने दिन् । तर मेरो अगाडी बुबाको तस्वीर छ । त्यही तस्विर हेर्दै वुवाकोे झल्को र उहाँबाट पाएको यो मानवजन्मको नातालाई मात्र उहाँ प्रतिको आत्मा सझनु शिवाय बिकल्प के नै छ र ?

यदि कुनै जन्ममा मैले मानबजन्म लिन पाए भने त्यो बेला पनि मेरै वुवाको प्यारी छोरी भएर जन्म लिन पाउँ । बुबा ! सन्तानकालागि यो शब्द कति प्रिय र मूल्यवान् छ ? सायद यसलाई शब्दमा व्याख्या गर्न सम्भव छैन् । “बुबा” केबल एउटा शब्द मात्र होइन् । यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ । ठेस् लाग्दा पनि हामी ऐया बुबा भन्छौँ । यो शब्द भित्रबाट अनयास निस्किन्छ । मानौं यो एउटा शक्ति हो, जसबाट हामीलाई प्रेरणा प्राप्त हुन्छ अनि अगाडी बढ्ने साहस मिल्छ ।

बुबा, बाबा, ड्याडी, पिता, पापा, फादर अनेक शब्द तर, रुप एउटै ! हामी अनेक शब्दले उहाँलाई सम्बोधन गछौँ । हरेक सन्तानको पहिलो हिरो हो बुबा । चाहे छोरा होस् वा छोरी सबैका लागि बुबा प्यारो र पुजनीय हुन्छ । उनले आफ्ना सन्तानलाई माया र संरक्षण मात्र होइन, संघर्ष गर्न पनि सिकाउँछन। कति दुःख, पीडा लुकाएर अनि अनेक अपजस र अपमान पनि चुपचाप सहेर उनले सन्तानलाई खुसी बाँड्ने प्रयास गरिरहेको हुन्छन ।

संसारमा जन्म लिनु ठूलो कुरा होइन । जन्मेर बाँच्नुको अर्थ के हो ? बुझ्नु ठुलो कुरा हो। आफ्ना सन्तानलाई हरेक बुबाले यही सिकाउने प्रयत्न गर्छन् । हिन्दु ग्रन्थ अनुसार गुरु, माता र पितालाई भगवानको मानव रुप भनिन्छ। रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने व्यक्तिलाई बुबाको रुपमा परिभाषित गरिएको छ ।

हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई सुरक्षा दिने र सहि मार्ग निर्देशन गर्ने बुबा ! आँखामा माया नदेखाए पनि मुटुभरी आफ्नै सन्तानको माया, पिर र चिन्ता भने रहिनै रहन्छ। बुवा हजुरले मलाई हुर्काउन, बढाउन जुन प्रकारले कष्टपूर्ण र दुःखदायी जीवन बिताउँदै, दुःखका काँडेतारहरू पन्छाउँदै, भविष्यप्रति उत्साहित भएर हेर्नुभयो र मबाट हजुरहरूले धेरै आशा र भरोसा गर्नुभएको थियो र मेरो सुन्दर भविस्यको सपना जो थियो, त्यो सपना हजुर जिवित रहदै पुरा गर्न नसके पनि एकदिन अवस्य पुरा गर्नेछु।

स्वभाविक रूपमा आफ्नो सन्तानबाट आमा बाबाहरूले आशा गर्ने कुरा ठिकै हो । तर अहिले हजुरसँगसँगै बसी हजुरलाई खुशी दिन नपाउँदा अर्थात हजुरलाई गुमाउँदा मुटु भक्कानिएर आउंछ । मेरा बुवाले जेजे गर्नु भयो सायद मैले पनि त्यही नै सिकेँ। आदर, सम्मान र प्रेम सिकेँ। जीवनमा जस्तोसुकै परिस्थितिमा पनि धैर्य गर्न र सहजै सामना गर्नसक्नुपर्छ भन्ने कुरा सिकेँ। स-सानो कुराहरूमा पनि सुख, सन्तुष्टि हुन सिकेँ।

दुःखलाई लुकाएर हाँसी रहन सिकेँ। संघर्ष गर्न सिकेँ। जे-जे सिकेँ सबै मैले मेरा बुबावाट नै सिकेँ। हुन त मम्मीको पनि मेरो जीवनमा कम योगदान भने छैन । निकै हक्कि मैले जे भनेपनि मेरा इच्छा, चाहना पुरा गर्न तयार बुबाको त्यो स्वभावले साहस र दृढता सिकायो। म निकै अभावमा पनि बाचेँको छु। हामी ६ जना दिदि-भाई कान्छी म दिदिहरुले पनि मलाई कुनै कुराको अभाव महसुस हुन दिनुभएन । म अहिले जुन अवस्थामा छु यहाँ सम्म आउनुमा मेरा दिदिहरुको पनि ठुलो हात छ, सपोर्ट छ, योगदान छ ।

गौरव गर्ने कुरा हामीलाई बुवाले सिकाउनु भयो । अभावकै बीच पनि उहाँहरुले छाती चौडा र शिर ठाडो पारेर हिँड्न सिकाउनु भयो । यसमा बुवाको साहस र आमाको सन्तुष्टि दुवै चीजले काम गर्यो । हरेक सम्बन्धमा मिलावट देखे नक्कली रङहरुको सजावट देखे तर वर्षौं देखि हेरि रहेको छु ।  बाबाको अनुहारमा न कहिल्यै थकान देखेँ, न ममतामा कुनै मिलावट देखेँ, नत त कुनै बनावट नै देखेँ न कुनै कुरामा स्वार्थ नै भेटे।

आज बुवाको मुख हेर्ने दिन यसरी सम्झिन्छु ! मलाई जन्मदिने बुवाको शरीर हामी बिच नरहे पनि, रगतको सम्बन्धले सधै आफ्नो अगाडी प्रतिबिम्बको रुप आँखा वरिपरी पाई रहन्छु । हामी बिचको यहि गहिरो सम्बन्धलाई अमर राख्दै आत्माको स्मरण गर्दै सदा सदा हर जन्म हजुरकै सन्तान भएर जन्मन सकुँ भन्ने कामना गर्दछु !