तीन महिनामा ४० प्रतिशतले घट्यो टेलिकमको नाफा

काठमाडौँ, नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत कम हो ।नयाँ आर्थिक वर्षको पहिलो त्रैमासिकमा टेलिकमले १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६४ करोड ६७ लाख नाफा गरेको थियो । नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा सेवाबापतको आम्दानीमा पनि कमी आएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले या अवधिमा सेवाबापत मात्रै ८ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा सेवाबापत मात्र कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सेवातर्फ र अन्य आम्दानीसहित कम्पनीले यो त्रैमासमा १० अर्ब १० करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ६० करोड ३९ लाख थियो । विश्वव्यापी रूपमा उपभोक्ता भ्वाइसबाट डेटातर्फ आकर्षित भइरहेको र ओभरदी टप एप्लिकेसनका कारण अन्तर्राष्ट्रिय भ्वाइस कलबाट हुने आम्दानी घटेको कम्पनीले बताएको छ । एक देशबाट अर्को देशमा कल गर्दा महँगो हुने भएकाले उपभोक्ताले इन्टरनेटको सहायतामा विभिन्न एपमार्फत कुराकानी गर्न थालेपछि संसारभरका टेलिकम कम्पनीको आयमा असर परिरहेको छ । केही वर्षअघिसम्म नेपालका टेलिकमको आम्दानीको एकतिहाइ हिस्सा अन्तर्राष्ट्रिय कलबाट हुने गर्थ्यो ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा आएको कमीका कारण पनि आफ्नो आय प्रभावित भएको वित्तीय विवरणमा विश्लेषण गरिएको छ । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण पनि सेवातर्फको आय घटेको कम्पनीको विश्लेषण छ । लकडाउनका बेला सरकारको निर्देशनमा डेटा तथा भ्वाइस सेवातर्फ ३० प्रतिशत छुट दिनुपरेका कारण आयमा कमी आएको कम्पनीको निष्कर्ष छ । यस्ता बाह्य कारणले आयमा कमी आएको भए पनि कर्मचारीको काम गर्ने शैलीमा आएको परिवर्तन र सेवा विस्तारको परियोजनामा ढिलाइका कारण पनि सेवाको गुणस्तर सुधार प्रभावित बनेको वित्तीय विवरणमा जनाइएको छ ।

फोरजी सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको र थप विस्तारको काम जारी रहेको टेलिकमले बताएको छ । गुणस्तरीय दूरसञ्चार सेवाका लागि ग्रामीण दूरसञ्चार कोषअन्तर्गत आफूले पाएको अप्टिकल फाइबर विस्तारको कामका लागि कम्पनी प्रतिबद्ध रहेको वित्तीय विवरणमा जनाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरी टेलिकमलाई प्रदेश १ देखि वाग्मती प्रदेशका सबै जिल्लाका सदरमुकाम छुने गरी अप्टिकल फाइबर विस्तार गर्ने जिम्मा दिइएको छ ।

काम सुरु गरेको दुई वर्षमा सक्ने लक्ष्य लिइएको यो परियोजना सुरु भएको डेढ वर्षमा पनि भौतिक प्रगति सन्तोषजनक हुन सकेको छैन । प्राधिकरणको तथ्यांकअनुसार यो परियोजनाको भौतिक प्रगति १४ प्रतिशत मात्रै छ । यो क्षेत्रमा कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा हालसम्म असोज मसान्तसम्म ३ सय ८ किलोमिटर मात्रै बिछ्याइएको छ ।