तिज पर्व ! मौलिकता र विकृति

नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्बका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको पाइन्छ । महिलाले मनाउने तिजको मौलिकता हराउँदै गएको छ ।

तिज नेपाली महिलाको महत्त्वपूर्ण चाड हो । यसलाई हर्षोउल्लास तरिकाले मनाउन पाउनु नारीको अधिकारभित्र पर्ने कुरा हो । त्यसैले नेपाल सरकारले तिज मनाउनकै लागि सार्वजनिक बिदा दिने गरेको छ ।

हिजो र आजलाई नियालेर हेर्ने हो भने तिज पर्व मनाउने तरिकामा निकै परिवर्तन आयको देखिन्छ ।त्यसोत परिवर्तनशिल समय र समयको माग अनुसार हरेक क्रियाकलाप र गरिने व्यबहारमा परिबर्तन हुनु स्वभाविकै हो । तर कतिपय धर्म, सस्कृती र परम्पराहरु निभाउने क्रममा कतै अल्मलिएर आफ्नो रितिरिवाजलाई विसङ्गती र विकृती तर्फ धकेल्नु धर्म र सस्कृतीको जगेर्ना गर्न नसक्नु हो ।

पहिले-पहिले “म सानो छँदा तिजको बेलामा गाउँघरमा सबै महिला दिदीबहिनी एकै स्थानमा भेला भएर सुखदुःखका गित गाएर मादलको तालमा नाच्ने र छोरी चेलिलाई बोलाएर आफ्नै घरमा मिठो मसिनो पकाएर खुवाएर तिज मनाउने गरिन्थ्यो । तर आजभोलि आफ्नै मौलिक स्वभाव बिर्सेर आयातित अनुकरण सुख खोज्ने कार्यहरू भइरहेको छ । जसको कारणले परापुर्वक कालदेखि मान्दै आएका धर्म सस्कृती लोप हुदैछन । तिजमा उच्छृङ्खल, तडकभडक र देखासिकी बढ्दै गएको छ।”

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन नहुँदा नयाँ पिँढीका धेरै जसो महिला पनि चिन्तित छन् ।

महिला र तिज एक अर्काका पर्यायवाची जस्तै भएकै कारण होला दुई दिन मनाउने तिजलाई हाल आएर महिनौँ अगाडी देखि मनाउन थालिएको छ । सुरूमा सभ्रान्त परिवारका महिलाले पैसा उठाउँदै पार्टी प्यालेसमा तिजको दर खुवाउने चलन चलाए। अहिले त्यो परम्परा जस्तै भएको छ । एक महिना अगाडी देखि पार्टी प्यालेसमा तिजको दर खाने र खुवाउनेको भिडभाड हुने गरेको पाइन्छ । विभिन्न संघ संगठन, सम्पर्क मञ्च, आमा समूह, दिदीबहिनी समूह आदी नामका थुप्रै यस्ता समूहले महिलालाई दर खुवाउने गरेका छन् ।

तिज आउन धेरै दिन बाकी हुन्छन तर केही दिन अघि देखि नै तिजको नाममा विभिन्न कार्यक्रम हुन थालेको पाइन्छ। तिज संस्कृतिको निरन्तरता र धार्मिक विश्वास मात्र रहेन सामाजिक बिकृतिको रुपमा बढ्दै गएको छ। यो क्रम अझै बढ्दो छ ।

तिजले बिकृति बढाएको भन्दै तिजको वरिपरी विभिन्न जिल्लाका प्रशासन कार्यालयहरुले विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा प्रतिबन्ध लगाउने गरेकोपनि पाइन्छ। यस्ता कार्यक्रमलाई समयमा नियमन नगर्ने हो भने तिज मनाउने नाममा भित्रिएको बिकृति रोक्न नसकिने अवस्थामा पुग्ने देखिन्छ ।

तिजसँग सम्बन्धित दर खाने लगाएतका कार्यक्रम मात्रै होइन, तिजका अवसरमा सृजना गरिने गित पनि भड्किलो बन्दै गएको छ। तिज मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्शृङ्खल गितको नियन्त्रण गर्नुपर्ने देखिन्छ । तिज गितमा मौलिकता खोज्नेहरूलाई यसले निराश बनाएको छ। तिजमा महिला आफूलाई अरु सामु राम्रो देखाउन चाहिने भन्दा धेरै खर्च गर्ने गरेको पनि पाइन्छ । तर तिजलाई संस्कृति सँग जोड्न अरुको देखासिसि गर्नु हुँदैन।”

कहिलेकाहीँ गाइने गितहरूमा छाडापन हटाउने, द्विअर्थी प्रयोग नगर्ने र तिजलाई तिजजस्तै तरिकाले संयमित भएर गाउने भनिएपनि यस्तै खालका गितहरू रेडियो, टेलिभिजनबाट घन्कीरहेको पनि पाइन्छ। पर्व आफैमा राष्ट्रको सम्पत्ति हो। यसलाई संरक्षण गरिनु अत्यन्त जरुरी छ ।