आशाको केन्द्रबिन्दु तर अनपेक्षित प्रतिफल मेरो जन्मभुमी

जाजरकोट जिल्लास्थित साबिक भुर गाबिस वडा नं २ हाल भेरी नगरपालिका वडा नं ९ पोखरा एक ऐतिहासिक महत्त्व बोकेको मेरो जन्मभुमि हाे । चारैतिर हरियाली डाँडाकाँडा अनि बीचमा सुन्दरताले भरिपुर्ण चिटिक्क सजिएको सुन्दरभुमी उच्च बिन्दुमा भगवतीको मन्दिर, ब्रह्माका ऐतिहासिक थान देवलहरु,शितलता प्रदान गर्न लगाइएको पिपल अनि थकाइ मेटाउनका लागि त्यसमाथि बनाइएको चौतारी साह्रै मनमोहक ठाँउ त्यो स्वर्गभुमी जस्तै लाग्छ।

चारैतिरको ब्यापारिक अनि स्वास्थ्य उपचारको केन्द्रबिन्दु तर संघर्षका पाइलाहरु उचाल्न लडीबुडी गर्दै आइरहेको प्राणभुमी आज जीर्ण भैरहेको आभाष दिलाइरहेको छ। स्थानीय सरकारका जनप्रतिनिधिहरुले तयार पारेको बस्तुगत विवरणले त झन भ्रम सिर्जना गराइरहेको छ। उक्त विवरणमा खेलकुद पार्कको लागि चार रोपनी छुट्याइएको उल्लेख छ तथापि म लगायत मभन्दा अग्रजहरुको पालामा त्यही आगनमा गट्टा अनि लुकामारी खेल्दै रमाउथ्यौ अर्थात खेलकुद क्षेत्रका लागि प्रचुरता थियो।

तर अहिले पछिल्लो पुस्ताका बच्चाबच्चीहरुका लागि दन्त्य कथा झैं भएको छ। त्यस्तै सोही वडाको घोरनेटामा दुई रोपनी,कालाभुरमा तीन रोपनी पर्याप्त छ भनी त्यो वडा भवनमै बसेर बनाइएको अनुमानित विवरण पुर्ण रुपमा झुठ छ।जब कि खेलमैदानको नै अस्तित्व मेटिने अबस्थामा खेल मैदानका लागि भनेर छुट्याइएको त्यो तीस लाख बजेटको के काम।यस्तै हुलाक कार्यालयको नाममा रहेको जग्गा,बीच चौरमा रहेको पिपल चौतारी,प्राचीन कालखण्डदेखि नै आस्था र विश्वासका साथ पुजाआजा गर्दै आइरहेका देउताका मठमन्दिर अनि थानहरु र कोजाग्रत पुर्णिामाको अवसरमा लाग्ने जात्रा क्षेत्र ती राजनीतिक छवि बनाएका भन्नेहरुबाट नै अतिक्रमण भैरहेको अवस्था छ।

हिजो ब्यापार ब्यबसायका लागि भनेर घुम्ती टहराहरु अड्याइएको ठाँउमा आज मनोमानी दुईरतीन तले घर ठड्याइएको दृश्य छ।सहिद सत्यदेव शर्माको स्मृतिमा निर्मित रङरोगनले सजिएको प्रतिक्षालय आज तोडफोड भैरहेको अबस्था छ।करिब १,२४,५९८ हेक्टर ओगटेको भनिएको त्यो वनजङ्गल क्षेत्र आज घरजग्गाहरुले सजिएर खुम्चिन पुगेको छ।बिमारीहरुको औषधि उपचारका लागि स्थापित स्वास्थ्यचौकी यहाँ अबस्थित भए पनि आवश्यक यन्त्रउपकरण र औषधिको उचित प्रबन्ध नभएको कारण बिमारीहरुले समयमा ओखतीमुलो नपाएको र मृत्युवरण समेत गरिरहेको अबस्था छ।

कागजी पानामा सरसफाइयुक्त समाज भनी नाम लेखिएता पनि वास्तविकतामा फोहोरयुक्त समाज भनी अन्य समाजले बिल्ला नओढाउला भन्न सकिँदन।किनकी सार्वजनिक सौचालय निर्माणका लागि केही बजेट छुट्याउने भनिए पनि स्थानीय सरकारको कार्यावधी सकिन लाग्दा समेत सौचालय निर्माणका लागि पहलकदमी हुनसकिरहेको छैन।

कुहिने तथा नकुहिने फोहोर ब्यबस्थापनका लागि निर्माण गरिएको खाडललाई समेत तोडमोड गरि सोही ठाँउमा घरघडेरी बनाइएको छ।त्यस्तै भनिन्छ पानी नै जिन्दगानी हो चाहे मानिस लगायत बस्तुभाउले पिउन र खेतीबाली उब्जनी गर्न किन नहोस पानी एकदमै अपरिहार्य छ।तर पनि खानेपानीको आयोजना निर्माण हुँदा नहुँदै संरचनाहरु ध्वस्त पारी हाहाकार मच्याइन्छ।यसैगरि बिकासका पुर्वाधार सडक यातायात तथा विद्युतको बिकास भैनसकेकाले जनताहरुले अझै पनि सास्ती खेप्नु परेको छ।यो एक भोगाइको पिडादायी तितो यथार्थ हो।

अर्कोतर्फ बालबिबाह जस्तो सामाजिक कुरितीले पनि समाजमा बिकृतिको रुप धारण गरेको छ।यसप्रती स्थानीय सरकार अनि स्वास्थ्य क्षेत्रको चासो अझै देखिएन। कयौं बालबालिका पारिवारिक चपेटामा परी बालबिबाह गरिरहेको र केहीले आजकलका ती फिल्मी क्यारेक्टरका कारण बालबिबाहमा फसेर उग्र रुप लिइरहेको तथ्य सार्वजनिक भैरहेका छन।यसले गर्दा बाल तथा शिशु मृत्युदर अनि अपरिपक्वताको पारिवारिक जिम्मेवारीपनाको बोझ सिर्जना हुने अथक सम्भावना रहेको छ।

त्यस्तै गरिवीले ब्याप्त मेरो समाजमा एकछाक भोको पेट भर्न र शरीर ढाक्नका लागि बालबालिकाहरु मजदुरका रुपमा काम गरिरहेको दर्दनाक अबस्था छ।रोजगारीका लागि कयौं मानिस विदेशीनु परेको छ।वर्षभरी काम गरि दुईरचार पैसा कमाएर आफैले लिएर घर आउनु पर्ने अवस्था अझै ब्याप्त छ किनकी रिमिटेन्सका लागि स्थानीय स्तरमा बैंकिङ क्षेत्रको बिकास हुनसकिरहेको छैन।यसले गरिब अन्त्य नहुने पाटो अझै पैदा रहेको प्रष्ट हुन्छ।

यसकारण स्थानीय सरकार र यहाँका जनप्रतिनिधिलाई मेरो प्रश्न 

१.प्रविधिमैत्री स्वास्थ्य जनचेतनामुलक कार्यक्रमका लागि कार्यकक्षहरुमा बढवा दिन नसकिरहनुको कारण के ? 
२.शैक्षिक चेतनाको बिकासका लागि के कस्ता परियोजनाहरु तय गर्ने ? 
३. शान्ती समिती गठन हुनुको ध्येय के हो ? 
४. स्थानीय तहका काम,कर्तव्य र अधिकारलाई पारदर्शिताका साथ परिचालन गर्न नसकिरहनुको कारण के ? 
५.समाजको हित अनुकुलको सेवा प्रवाह गर्ने कि ठेकेदार पद्धतिको सेवा प्रवाह ? 

यस्तै आम जनमानसमा पनि मेरो आग्रह छ कि निजी स्वार्थलाई त्यागी सामाजिक हीतमा अग्रसर होउ । अन्यथा जिउँदाको जन्ती र मर्दाको मलामीको परिकल्पना गर्न सकिँदैन।।

भेरी न पा ९ पोखरा जाजरकोट