एक परिवारलाई मासिक एक सिलिन्डर उपलब्ध गराइने

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ।

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो ।त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ । सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ ।

ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ ।निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्नेछ । निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।