इन्टरपोलको खोजिमा रहेका एक व्यक्ति काठमाडौं वाट पक्राउ

काठमाडौं, इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्धामा गोरखा माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्डअनुसार गुरुङ कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले काठमाडौंको गोंगबु मित्रनगरबाट पक्राउ गरेको हो ।

गुरुङले एक महिलालाई विभिन्न अश्‍लिल म्यासेज लेखी पठाएको र इमोमार्फत अपशब्द लेखेर धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै वैशाख ८ गते उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी परेको थियो ।

उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो ।

गुरुङमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।