युरोप भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं,साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत नेपाल आइपुगेका हुन्।

ओली नेतृत्वको भ्रमण टोलीलाई स्वागत गर्न कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, अन्य मन्त्रीगणलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।

जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए।

२ दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत पुगेका थिए। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए।

बेलायतमा छँदा समकक्षी थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग उनले भेटघाट गरेका थिए।

यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए।