एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौँ, बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा पुगेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

एमसीसी टोलीले ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।