एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौं पुग्यो

पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

काठमाडौँ, एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ : २५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

काठमाडौं आउनुअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी थिइन ।उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् । बुधबार नै पत्र अर्थ मन्त्रालय पुगेको छ आएको छ ।

एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ । तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयले सम्झौतासँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।

सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै स्पष्ट पार्ने अवसर दिएकामा नेपाल सरकारको प्रशंसा गरेकी छन् । उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अघि बढाउन सकारात्मक पहल गरेकामा धन्यवादसमेत दिएकी छन् । उनले एमसीसी संसद्बाट सकारात्मक रूपमा अनुमोदन गर्नका लागि नेपाली जनतासँग खुला र पारदर्शी रूपमा संवाद गर्न तयार रहेको पनि बताएकी छन् । अघिल्लो पटक आफू नेपाल आउँदा हरेक दलका नेताले सकारात्मक प्रतिक्रिया दिए पनि ‘दुर्भाग्यवश’ पछिल्लो समय भ्रामक भनाइ बाहिर आएकामा चिन्ता व्यक्त गरेकी छन् ।

सुमारले कुनै पनि एजेन्डा नलुकाइएको अर्थमन्त्री शर्मालाई दिएको जवाफ पत्रमा उल्लेख गरेकी छन् । ‘यो पत्र र जवाफ नेपाली जनताले थाहा पाऊन् भन्ने अपेक्षा गर्दछु । यो अनुदान सम्झौताले २ करोड ३० लाख नेपाली जनतालाई बढी भरपर्दो विद्युत् तथा कम मूल्यमा यातायात र ऊर्जा फाइदा पुर्‍याउनेछ,’ उनले लेखेकी छन् ।

विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारसम्बन्धी करिब ५५ अर्ब रुपैयाँको अनुदान सम्झौता संसद्बाट अनुमोदन गर्न २०७६ असार ३० मा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरिएको थियो । त्यसलगत्तै सम्झौतालाई लिएर पक्ष र विपक्षमा बहस चलिरहेको छ ।

पहिलो भेट एमाले अध्यक्ष ओलीसँग :

बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले आजै दिउँसोदेखि राजनीतिक भेटघाट थाल्ने भएको छ । आजै उनिहरुको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । उनि नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ ।

कतार एयरवेजमार्फत काठमाडौं ओर्लिएका एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।