वर्ग विभेदभित्र रुमलिएको तिज

परापुर्व कालदेखी नै मनाउदै आएको नारीहरूको महान चाड हरितालीका तिज विशेष गरी विवाहित नारीहरूले आफ्नो श्रीमानको दीर्घायुको कामना सहित दिनभर निराहार व्रत बसि बेलुका पुजाअर्चना गरी श्रीमानको खुट्टा धोएर जल खाएपछी मात्र व्रत समापन भएको मानिन्थ्यो, करिब बाईस/पच्चिस वर्ष पहिले मैले देखे र बुझे अनुसार । उसो त यो पाटो परम्परा, धर्म, संस्कार र संस्कृतिभित्र पर्दछ । तर यसलाई पछिल्लो समयमा केहिले बिस्तारै छोडदै/परिवर्तन गर्दै गइरहेको पनी देखिन्छ । यो नितान्त व्यक्तिगत बुझाई र विचारमा आधारित छ । त्यसैले यसलाई धेरै लम्बेतान गर्नुपर्ने पनी देखिन्न । तर विडम्बना ! यो तिज पवित्र पर्व भएर पनि वर्ग विभेदभित्र रुमलिएको देख्दा साच्चिकै दु:ख लाग्छ ।

उच्च खानदानी वर्गका नारीहरूको तिज :

तिज आउन करिब एक डेढ महिना बाँकि नै हुन्छ तिजको रौनकले छोई हाल्छ । प्राय:का आ-आफ्नै कार हुन्छन् कार नहुनेहरूका बाइक/स्कुटी त जरुर हुन्छन् । धेरै जसोका श्रीमान गतिलै नेता अथवा नेताका स्वकीय सचिव या सल्लाहकारसम्म त हुनै पर्यो । सरकारी जागिरे या गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको कर्मचारीसम्म भए पनि त पुगिहाल्छ नि ।

कहिलेकाहीँ ट्क्क कार चढेर कुनै चर्चित पार्टीप्यालेस, रेस्टुरेन्टसम्म पुग्यो चौरासी पचासी व्यन्जनका खानेकुराहरू अर्डर गर्यो त्यहीमाथि केही प्याक ब्राइन्डेड व्हिस्की पनि अड्रर गरिहाल्यो टन्न खायो त्यसपछि र्याप ट्याप गानामा डान्स गर्यो । बस ! कहिलेकाहीँ सपिङमल पुग्यो त्यहाँ पनि डुब्लिकेट क्वालिटी र सस्तो मुल्यको साडि ब्लाउज, लेहेङ्गा किन्ने कुरा भएन । अनि कहिलेकाहीँ नाम चलेका सुनचाँदी पसलहरूमा नि पुग्नै पर्यो चार-पाँच तोला जतिका नयाँ मोडेलका गरगहनाहरू नकिने पनि के तिज मनाउनु ? फेरि तिजको दिन गहना र फेसन सो पनि गर्नै पर्ने हुन्छ…। यो हिसाबले उहाँहरूका लागि तिज त केवल एउटा बहाना सिवाय अरु केही पनि हैन ।

मध्यम वर्गका नारीहरूको तिज :

उच्च खानदानी नारीहरूको देखासिख्खी गर्नैपने, संभवत: श्रीमानले स्वदेशमै नोकरी चाकरी गरेर कमाएको पैसा होस् या खाडी मुलुकमा रगत पसिना बगाएर कमाएर पठाएको पैसा होस हातमा पर्नासाथ बजारसम्म पुग्नै पर्ने, फलानिले किनेको जस्तै साडी र गहनाहरू पनि किन्नै पर्ने, उस्तै परे दर खाने भन्दै फलानीहरू… पुगेका पार्टीप्यालेस/रेस्टुरेन्टहरूतिर पनी जानै पर्ने, घरमा दाल चामल छ छैन, ख्याल छैन । छोराछोरीका कापी कलम छन छैन मतलव छैन । सबैभन्दा जटिल समस्या यहिँनेर छ, जहाँ देखासीख्खी नगरी नहुने परिपाटीले विकराल रुप लिंदै छ ।

असाध्यै निम्न वर्गका नारीहरूको तिज :

उसो त उहाँहरूलाई तिजको कुनै पनि रौनकले छुदैन सायद । जीवन व्यतीत गर्ने तरिका नै फरक छ । न त तिजको लागी भनेर लत्ताकपडा किनमेल गर्नु छ, न त केही गरहनाहरू नै किन्नु छ । न त कसैको देखासिख्खी नै गर्नु छ । छ त साझ बिहानको छाक कसरी टार्ने ? छोराछोरी कसरि पाल्ने ? भन्ने पिर मात्र छ । तर आर्थिक हिसाबले जती गरिब भएतापनी चेतनाको हिसाबले निक्कै बलियो लाग्छ मलाई । “घाँटी हेरी हाड निल्नु पर्छ” भन्ने ज्ञान छ । तडकभडक नगरी आफुले जे जुटाउन सकिन्छ । त्यही खाएर वर्षौं पुराना साडी र चोली लगाएर पनी रमाउन सक्ने सन्तोषी मन छ । अनि धार्मिक र सांस्कृतिक परम्परालाई जोगाई राख्नु पर्छ भन्ने हेक्का पनि छ ।

तसर्थ, यी र यस्तै वर्ग विभेदको हामीले अन्त्य गर्न जरुरी छ । आ-आफ्नै गच्छे अनुसार पर्व मनाउँ । अरुको देखासिख्खीमा नलागौँ । पर्व मनाउने बहानामा जथाभावी खर्च नगरौं, वर्ग विभेदको अन्त्य गरौ । सबैले सबैलाई सम्मान तरिका र नजरले हेर्न सिकौं । अन्तमा सम्पुर्ण नेपाली नारीहरूमा हरितालिका तिजको अपार शुभकामना !