झुक्याएर एमसिसी पास गर्ने प्रयास नगर्न ओलीको चेतावनी

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस र माओवादी केन्द्र मिलेर एमसिसी सम्झौता गरेको र अहिले चुपचाप बसिरहेको भन्दै आपत्ति जनाए। नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उनले एमसिसी झुक्याएर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए। उनले सम्बोधनका क्रममा एमसिसीबारे सत्तारुढ गठबन्धनलाई पटकपटक प्रश्न गरे।

‘यिनै मान्छेहरु हुन। कांग्रेस र माओवादी भएका बेला एमसिसी गरे। अहिले एमसिसी बोल्दैन। झुक्याएर पास गर्न खोज्या होला! बोल्दैनन्। के गर्ने हो भन्दैनन्। जनताका अगाडि यिनीहरुले गरेको एमसिसी के भन्छन त! भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? एमसिसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन। हिजो साइन गर्नुभएको थियो त। के गर्ने एमसिसी? उहाँहरु चुपचाप हुनुहुन्छ,’ ओलीले भने ।