मोदीको पुत्ला दहन गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी नगर्न भनेको छ । मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख छ ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।

मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिदैँ आएको उल्लेख गर्दै मन्त्रालयले अब त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

दार्चुला घटनाको विरोधमा राजधानी काठमाडौंमा मोदीको पुतला दहन भैरहेको छ । गत शुक्रबार प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले मोदीको पुत्ला जलाएका थिए ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । सरकारले गठन गरेको छानबिन समितिले समेत भारतीय पक्षको संलग्नता सो घटनामा रहेको ठहर गरिसकेको छ ।