इजरायल जानेका लागि लिखित परीक्षाको मिति तोकियो

काठमाडौं, केयर गिभरका लागि इजरायल जाने श्रमिक छनौटका लागि आउँदो भदौ २८ गते भाषा परीक्षा हुने भएको छ । दिउँसो १ बजेबाट हुने परीक्षामा करिब साढे ७ हजार परीक्षार्थी सहभागी हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएकोमा ९,६९९ जनाको आवेदन परेको छ । ती आवेदन प्रमाणीकरण गर्दा करिब साढे ७ हजार जना लिखित परीक्षामा सहभागी हुने विभागका निर्देशक कमल ज्ञवालीले बताए । परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाउनेछ । परीक्षा केन्द्र पनि त्यहीं तोकिने निर्देशक ज्ञवालीले जानकारी दिएका छन् ।

परीक्षामा सहभागी हुनका लागि आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानु पर्नेछ । लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको छ । हरेक कोठामा बढीमा २५ जना र एउटा बेञ्चमा एक जनालाई मात्रै राखिने जनाइएको छ । ८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिने छ । ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन् ।

लिखित परीक्षामा १,६८० जना छनोट गरिने छ । परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने निर्देशक ज्ञवालीले बताएका छन् । प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले छिटो नतिजा सार्वजनिक हुने भएको हो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्रमा अन्तर्वार्ता र शारिरीक परीक्षण गर्ने विभागको तयारी छ ।

लिखितमा जस्तै अंग्रेजी ग्रामर र स्वास्थ्य सम्बन्धि प्रश्न सोधिने छ भने, शारिरीक परीक्षणमा उचाइ, तौल नापिने छ । इजरायल जाने श्रमिकको तौल कम्तिमा ४५ किलो र उचाई १.५ मिटर हुनुपर्नेछ । अन्तर्वार्ता र शारिरीक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोर गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ ।

इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ । आवेदन दिने भने पुरुष धेरै छन् । ५,४९९ जना पुरुष र ४ हजार २ सय जना महिलाले आवेदन दिएका छन् । इजरायल जाने श्रमिकले सरकारलाई एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं व्यहोर्नु पर्ने भएको हो । केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउने छन् । इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ ।