सिरहामा दुई दर्जन घर डुबानमा

सिरहा,अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२, बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् ।

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए । स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्ट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ ।

यसैगरी, मैनावती खोलामा आएको बाढीले वडा नम्बर–९ का दुई घर डुबानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान (कबरिस्तान) बगाएकोे र मदर्सामा समेत क्षति पुर्‍याएको छ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–६ मा एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिए ।

वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौं पसल जलमग्न भएको छ । पूर्व पश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेकोे स्थानीयवासी रामनारायण ठाकुरले जानकारी दिए । रासस