महिला स्वास्थ्यकर्मीहरुलाई काममा फर्किनको लागी तालिबानले गर्यो अपिल

एजेन्सी,अफगानिस्तानमा कब्जा जमाएको विद्रोही संगठन तलिबानले स्वास्थ्य मन्त्रालयमा काम गरिरहेका सबै महिला कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ।तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत काबुल र अन्य प्रान्तमा काम गरिरहेका सबै महिला स्वास्थ्य कर्मचारीलाई काममा फर्किन अपील गरेका हुन्।

उनले ट्वीटमा अन्य मन्त्रालय अन्तर्गतका विभागमा काम गरिरहेका महिलाबारे केही बोलेका छैनन्। यसअघि सबै महिला कर्मचारीलाई घरबाट बाहिर ननिस्किन तालिबानले उर्दी जारी गरेको थियो।

जबीहुल्लाह मुजाहिदले काबुलका मानिसका लागि एक अर्को आदेश जारी गरेका छन्। ‘यदि मानिसहरूसँग कुनै किसिमका हतियार, गोली र विस्फोटक पदार्थ तथा सरकारी सम्पत्ति छन् भने एक साताभित्र फिर्ता गरिदिनु’, उनले भनेका छन्, ‘यसबीचमा कसैसँग यस्ता सामान भेटिएमा कुनै किसिमको सजाय पनि दिइने छैन।’