कृषिमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाहकारले दिए पत्रकारलाई धम्की

धम्की दिनेलाई कारबाही गर्न महांसघको माग

बिरेन्द्रनगर, कर्णाली प्रदेशका कृषिमन्त्रीमा स्वकीय सचिव र प्रेस सल्लाहकारले पत्रकारलाई धम्की दिएका छन् । समाचारको बिषयलाई लिएर कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीका स्वकीय सचिव प्रेमबहादुर बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलगायतका व्यक्तिहरुले पत्रकालाई धम्की दिएको बताएको छ ।

समाचारको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य तथा नागरिक दैनिकका कर्णाली प्रदेश व्युरो प्रमुख नगेन्द्र उपाध्याय र महासंघ कालिकोट शाखाका सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता विष्णप्रसाद न्यौपानेलाई शाहीका स्वकीय सचिव बुढाले टेलिफोनबाट र प्रेस सल्लाहकार नन्दकेश अधिकारी लगायतका व्यक्तिहरूले समाजिक सञ्जाल फेसबुकबाट भौतिक कारबाही सम्मको धम्की दिएको पीडित पत्रकारले जानकारी दिएका छन् ।

भाद्र ७ गते सोमबार नागरिक दैनिकमा प्रकाशित ‘मन्त्रीमाथि बलात्कारको आरोप’ शीर्षकको समाचार र भाद्र ६ गते आइतबार अन्नपूर्ण पोष्ट अनलाइनमा प्रकाशित ‘कर्णाली प्रदेशका कृषिमन्त्री शाहीलाई बलात्कारको आरोप’ शीर्षकको समाचारलाई लिएर पत्रकारद्वय उपाध्याय र न्यौपानेलाई धम्की आएको बताइएको छ ।

पत्रकारलाई भौतिक आक्रमण गर्ने धम्कीको बिषयलाई लिएर नेपाल पत्रकार महासंघले पनि गम्भीर आपत्ती जनाएको छ । सोमबार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।

उनले प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारले पत्रकारलाई यसरी भौतिक कारबाहीको धम्की दिनु आपत्तिजनक भएको बताउदै उनले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् ।

साथै उनले यस किसिमका प्रेसविरोधी घटना नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति