लुम्बिनीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने

काठमाडौं,लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन तय गरिएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी दिएका छन् । साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।