माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, आजै वारपार हुने दाबी

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ । केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने छ । माधव नेपाल पक्षका अर्का एक नेताका अनुसार एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुने छ ।

अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । ओलीले माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको जनाएका छन् ।