पारिवारिक झगडामा ५ महिने बालिकाको मृत्यु

नवलपुर,नवलपरासी बर्दघाट–सुस्तापूर्वमा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको मृत्यु भएको छ । देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमायालाई उचालेर घरको पिंढीमा फालेका थिए ।

गम्भीर घाइते भएकी ती बालिकाको उपचारको क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु भएको गिरीले बताए । घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।