२२ सांसदलाई पुगेन एमालेको स्पष्टीकरण पत्र

कारवाही भए मुद्दा हाल्ने नेपाल पक्षको चेतावनी

काठमाडौं,नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, तोकिएको समय सकिनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन ।

सांसद कल्याणीकुमारी खड्काले आफूले अहिलेसम्म स्पष्टीकरण पत्र प्राप्त नगरेको जनाएकी छन् । ‘मलाई अहिलेसम्म आएको छैन्’, उनले भनिन्, ‘स्पष्टीकरण सोधिएको बाहिरबाट सुनेका चाहिँ हौं ।’ अर्की सांसद समिना हुसेनले पनि आफूलाई कुनै स्पष्टीकरण पत्र प्राप्त नभएको बताइन् । स्पष्टीकरण पत्र आएमा अदालतको मानहानी गरेको मुद्दा हाल्ने उनले चेतावनी दिइन् ।

‘मलाई स्पष्टीकरण आएको छैन्,’ उनले नेपाल प्रेससँग भनिन्, ‘स्पष्टीकरण आएमा जवाफ होइन हामी यसपाली मानहानीको मुद्दा हाल्छौं ।’ सर्वोच्च अदालतले संविधानको ७६ को ९५० अनुसार सदनमा सांसदलाई दलको ह्वीप नलाग्ने व्याख्या गरिसकेकाले आफूहरूलाई कुनै कारवाही गर्न नमिल्ने हुसेनको जिकिर छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र आज पठाउने बताए । ‘आज पठाउँदै छौं,’ तामाङले भने, ‘सबै औपचारिकता पूरा गरेरै स्पष्टीकरण पत्र पठाउँछौं ।’ एमालेको केन्द्रीय कमिटीको १० औं बैठक आज पनि बस्दैछ । दिउँसो च्यासलमा बस्ने बैठकले कारवाहीसम्बन्धी निर्णय लिने बताइएको छ ।