विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

काठमाडौं,बाग्लुङमा विषाक्त मदिरा पिउँदा चारजनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर बिरामी भएका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने चारजना मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन,३९ वर्षीय दूधबहादुर राना,५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका थिए । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।