पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह

काठमाडौं,नेकपा एमाले केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा विहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको छ । अध्यक्ष ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान नेता नेपाललाई आग्रह गरेको स्रोतले बताएको छ ।

यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच बुधबारदेखि नै निरन्तर छलफल भएको थियो । यसबीचमा हिजो बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।माधव पक्षको बैठकपछि पनि दुवै पक्षका नेताहरू छलफलमा जुटेपनि सहमति हुन सकेको छैन ।

दोस्रो तहका तहका नेताहरूकै आग्रहमा ओली र नेपालबीच संवाद भएको हो ।माधव पक्ष पूर्वमाओवादीबिनाको २०७५ जेठ २ को बैठक नबोलाइएको र अझै पनि राजनीतिक विषयमा सहमति भइनसकेकोले आफूहरूको सहमतिबिना एकतर्फी बैठक बोलाइएको भन्दै सहभागी नहुने अडानमा छ ।

संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका आफ्ना कार्यदलका सदस्यमार्फत नेता नेपालले बैठक पर सार्न आग्रह गरेका छन् । बैठकको मिति सारेर निकास खोज्न नेपाल पक्षधरका नेताहरूले अन्य नेतामार्फत पनि केपी ओलीलाई सन्देश पठाएका छन् ।यसैबीच केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाएका छन् ।

आज बिहान ११ बजे बालुवाटारमा तय गरिएको बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उनीहरूको पद तोकेर पत्र पठाइएको कार्यालय सचिव तामाङले नेपाल प्रेसलाई बताए ।यो बैठक माधव नेपाल पक्षको माग र सर्वोच्चको आदेशपछि महाधिवेशन आयोजक कमिटी भंग गरेर बोलाइएको हो ।

बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम भने सकारात्मक रहेको बताइएको छ ।एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटी बैठक डाकेको हो ।