सरकार तीन बुँदे सहमतिमा इमान्दार नभए आँधिवेहरी आउँछः माइला लामा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।

“सरकार इमान्दार भएन भने, नेपालका संसदवादी राजनीतिक पार्टी जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधिबेहरी आउन सक्छ”, उनले अगाडि भने, “वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नुपर्छ ।”

बुधबार नेकपा निकट अखिल क्रान्तिकारीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लामाले आफ्नो पार्टीले अहिले देखिएका समस्या संसदीय व्यवस्थाका कारण उत्पन्न भएको भन्दै त्यसको फैसला गर्ने अधिकारी जनतालाई दिन आफ्नो पार्टीले जनतमत संग्रहको एजेण्डा अगाडि सारेको बताए ।

नेकपाको काठमाडौँ जिल्ला इन्चार्ज समेत रहेका मालाले फरक विचारकै कारण आफूलाई गिरफ्तार गरेर झुटा मुद्धामा २२ महिना हिरासत र जेलमा राखेको बताए । उनले जेल जीवनलाई सिर्जनात्मक कार्यमा लगाउँदा समय अपुग हुने गरेको अनुभूती सुनाए । लामाले बम, बारुदलाई जितेर आएकाहरुको पार्टी भएकोले जनताको लागि बलिदान गर्न तयार भएको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष शरद रसाइलीले अनलाइन शिक्षाका नाममा शैक्षिक संस्थाहरुले बदमासी गरेको बताए । उनले अनलाइ शिक्षाका नाममा अभिभावकलाई खेतबरी बेच्न बाध्य हुने अवस्था सिर्जना गरेको बताए । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षालाई जनताका छोराछोरीको पहुँचभन्दा टाढा पुर्याएको बताउँदै रसाइलीले त्यसविरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताए । विद्यार्थी आन्दोलनको केन्द्र काठमाडौँ भएकोले बताउँदै रसाइलीले शैक्षिक माफियाविरुद्ध अब फेरि आन्दोलन उत्रिनु पर्ने बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका अध्यक्ष गोविन्द विष्टले गरेका थिए भने संचालन हस्त बिकले गरेका थिए ।