३० हजार घुससहित सब-इञ्जिनियर पक्राउ

ओखलढुंगा,जिल्लाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब–इन्जिनियर राजन पासवान रहेका छन् ।

सिद्धिचरण नगरपालिका-१ मा कार्यरत पासवान मंगलबार निसंखेका सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन् । पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

मंगलबार घुस लिएको अवस्थामा पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि आज बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं टंगाल पठाइएको पनि काफ्लेले जानकारी दिए ।