बोहोराटारमा पौडेल र निधिबिच छलफल

काठमाडौँ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको छ। पौडेलनिवास बोहोराटारमा भएको छलफलमा दुई नेताले एक–अर्कासँग सहयोग मागेका हुन् । १४औँ महाधिवेशनमा दुवै नेता सभापतिका आकांक्षी हुन् । पौडेल १३औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित बनेका हुन् भने निधि यसपटक सभापति लड्ने तयारी गरिरहेका छन् ।

निधिले पौडेलसँग यसपटक आफू सभापतिमा लड्ने निधो गरेकाले सहयोग गर्न आग्रह गरेका छन् । ‘म सबैको साझा उम्मेदवार हुन चाहन्छु। अन्य नेताको समर्थन लिने प्रयास गरिरहेको छु। तपाईंले पनि मलाई सहयोग गर्नुपर्‍यो,’ निधिले भनेका थिए । निधिले महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग नियमित छलफल गर्दै आएका छन् ।

तर, पौडेलले निधिको प्रस्ताव स्वीकार गरेनन्। उनले आफ्ना लागि सभापति लड्ने र जित्ने यो अन्तिम अवसर भएकाले सहयोग गर्न आग्रह गरेका छन्। ‘मेरा लागि यो अन्तिम अवसर हो। मलाई सहयोग गर्नुस्,’ जवाफमा पौडेलले भनेका थिए । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने दुई नेताबीच नेतृत्व चयनका विषयमा भन्दा पनि क्रियाशील सदस्यता र समायोजनका विषयमा छलफल भएको जानकारी दिए। ‘अहिले नेतृत्वका विषयमा भन्दा पनि क्रियाशील सदस्य समायोजनका विषयमा छलफल भयो,’ उनले भने। क्रियाशील सदस्य समायोजनाका सन्दर्भमा दुई नेताबीच गरम बहस भएको बुझिएको छ।

निधिले समायोजनमा लचक भइदिन गरेको आग्रह पौडेलले ठाडै अस्वीकार गरेका छन् । पौडेलले क्रियाशील सदस्यताको समायोजनको विषय नियम र निर्देशिकाभन्दा बाहिर गएर नगर्न भनेका थिए। ‘विवादित जिल्लाको होस् वा अन्य जिल्लाका नियम र निर्देशिकाभन्दा बाहिर गएर गरिएका कुनै पनि निर्णय मान्दैनौँ,’ पौडेलले भनेका थिए, ‘समायोजनको विषयमा तपाईं कहाँ हुनुहुन्छ भनेर प्रस्ट देखिन्छ। त्यसैले नियमविपरीतका कुनै पनि निर्णय हामीलाई मान्य हुँदैन।’