गल्ती महसुस भएको छ,आइन्दा यस्तो गर्दिनँः मन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं,जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष गल्ती महसुस भएको जनाएका छन् ।

आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने समेत बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो । यसअघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई जातीय विभेदलाई प्रश्रय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए ।