विमलेन्द्र,शशांक र प्रकाशमानबीच मिटिङ हुँदै

काठमाडौं,नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि,महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ। सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको हो । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा हुन लागेको तिवारीले जानकारी दिए । आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका छन् ।

कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायण निधिका र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् ।

 पार्टीभित्र फरक गुटमा रहेका शशांक, विमलेन्द्र र प्रकाशमानको निरन्तरको छलफललाई कतिपयले नयाँ समीकरण निर्माणका रुपमा पनि लिने गरेका छन् । निधि संस्थापक समूहमा छन् भने कोइराला र सिंह संस्थापनइतर समूहका नेता हुन् । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ ।