तराईमा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना सुरु

कसरी गणना हुन्छ

काठमाडौं,कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराईका २१ जिल्लामा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना गरिहेको जनाएको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना सुरु गरिएको मन्त्रालयले जनाएको छ । पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट सूरु भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको मन्त्रालय प्रवक्ता डा।श्रीराम घिमिरेले जानकारी दिए ।

जिल्लाबाट पहिले जसरी आउने नियमित तथ्याङ्कका अलवा प्रविधिमा आधारित विवरणहरु संकलन र प्रशोधनको काम थालिएको प्रवक्ता घिमिरेले बताए । ‘मन्त्रालयको कृषि भौगोलिक सूचना शाखा, नार्क र इसीमोडको सहकार्यमा यस प्रविधिमा काम थलिएको हो,’ सहसचिव एवम् प्रवक्ता डा घिमिरेले भने । यसअघि पालिका र जिल्ला हुँदै आउने गरेको मुख्य सिजनको धान रोपाइँ विवरणमा गत वर्षदेखि स्याटेलाईट विवरण पनि समावेश गर्न थालिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले बताए ।कृषि नविनतम् ज्ञानको प्रयोग गर्ने हिसाबले स्याटालाईटले तराईका सबै जिल्लाका मूख्य धान बालीको नयाँ प्रविधिबाट विवरण निकाल्न थालिएको रेग्मीको भनाइ छ ।

कसरी गणना हुन्छ ?

नेपालमा मुख्य धान बालीको मौसम सुरु भएपछि अमेरिकी अन्तरिक्ष संस्था नाशाबाट धान खेतीका पकेट जिल्लाको क्षेत्रफलसहित रियालटाईम तस्वीर मन्त्रालयलाई प्राप्त हुन्छ । तस्वीर प्राप्तीका लागि जीपीएस मेसिन लिएर विभिन्न तोकिएको जिल्लाका पोइन्टहरुमा अधिकारीहरु पुग्ने र त्यहाँबाट स्याटोलाईटले क्षेत्रफल गणना गर्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

‘जीपीएस लिएर हाम्रा अधिकारी उभिएपछि त्यसको आधारमा स्याटालाईटले तस्विर र क्षेत्रफल पनि प्राप्त हुन्छ,’ उनले भने । उक्त तस्विरमा देखिएको भागलाई मन्त्रालय र नार्कका वैज्ञानिकको समूह इसीमोडका विज्ञसँगै बसेर प्रशोधन गर्ने काम गर्ने मन्त्रालयले जनाएको छ । नेपाल सरकारसँग भएको सम्झौताअनुसार इसीमोडले नाशाबाट तस्विर उपलब्ध गराउने नेपाललाई सघाउँछ । उक्त तस्विरमा रोपाइँअघि, रोपाइँपछि र धान हुकर्ंर्दै गर्दाका क्षणहरुको तस्विरहरु प्राप्त हुन्छ ।

काँस नामक घाँस पनि उस्तै देखिने भउयकाले यदाकदा समस्या पर्ने गरेको मन्त्रालयको भनाइ छ । स्याटेलाइट फोटो, क्षेत्रफल तथा परम्परागत रुपमा प्राप्त हुने विवरणको एकीकृत प्रशोधनबाट हरेक वर्ष धान रोपाइँको विवरण सार्वजनिक गर्ने गरिएको र यसवर्ष पनि सो प्रक्रिया सुरु भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

सोही प्रक्रियाबाट अबको एक सातादेखि प्रारम्भिक रोपाइँको विवरणहरु प्राप्त हुने मन्त्रालयले जनाएको छ । अमेरिका, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकले सफलतापूर्वक कार्यन्वयन गरिरहेको यो परियोजनामा नेपाल पनि अभ्यस्त हुँदै गएको मन्त्रालयको भनाइ छ ।