विमलेन्द्र,शशांक र प्रकाशमानबिच भेटवार्ता

काठमाडौं,नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिएका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा जम्मा भएका छन् ।

भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । आफूहरु आगामी दिनमा पनि निरन्तर सम्वादमा बस्ने बताएका नेतात्रयले सभापतिबारे आफूहरुबीचमा सहमति हुनसक्ने बताए । ‘हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना छ,’ भेटपछि महामन्त्री कोइरालाले भने ।

यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने पूर्वमहामन्त्री सिंहले बताए । तीन नेताबीच सम्वादका लागि पहल गरेका निधिले आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्तामा उत्साह देखिएको बताए । उनले अघि भने, ‘हाम्रो एउटै भ्वाइस हुन्छ ।’