सुर्खेतमा फोन नउठाएको भन्दै वडाध्यक्षद्धारा इन्जिनियरमाथी आक्रमण

सुर्खेत,पञ्चपुरी नगरपालिकामा कार्यरत इन्जिनियरमाथी वडाध्यक्षले आक्रमण गरेका छन् । नगरमा कार्यरत इन्जिनियर मोहन मल्लमाथि वडाध्यक्षले नगर प्रमुखको कार्यकक्षमै भौतिक आक्रमण गरेका हुन् ।आफुले फोन गर्दा नउठाएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष प्रेश बहादुर शाहीले आफूमाथि भौतिक आक्रमण गरेको पीडित इन्जिनियर मल्लको भनाइ रहेको छ ।

घटना बुधबार बेलुका करिब ६ बजेतिर घटेको हो ।नगर प्रमुख उपेन्द्रबहादुर थापाको कार्यकक्षमा उनीसहित ३ जना वडाध्यक्ष, २ जना इन्जिनियर र अन्य केही पदाधिकारीको बैठक बसिरहेको बेला शाहीले मल्लमाथि भौतिक आक्रमण गरेका थिए ।स्रोतका अनुसार बैठकमा भौतिक पूर्वाधार विकासतर्फ खर्च हुनुपर्ने बजेट खर्च नभएको विषयमा छलफल चलेको थियो ।

मेयरले बजेट फ्रीज हुने अवस्था आएको विषयमा कुरा निकालेका थिए । इन्जिनियरहरुले भने बजेट नै निकाशा नहुने, समयमा नआउने गरेका कारण यस्तो समस्या आएको बताएका थिए । छलफलकै क्रममा वडाध्यक्ष शाहीले आफूमाथि हातपात गरेको पीडित इन्जिनियर मल्लले बताए ।वडाध्यक्षले फोन किन नउठाएको भन्दै आक्रमण गरे तापनि आफ्नो मोबाइलमा उनको फोन नै नआएको पीडित इन्जिनियरले बताएका छन् ।त्यस्तै, सो नगरमा दुई इन्जिनियरको कार्य विभाजनसमेत गरिएको छ ।

मल्लले वडा नम्बर ७ देखि ११ सम्म हेर्ने जिम्मा पाएका छन् भने अर्का इन्जिनियर नरेन्द्र भण्डारीले वडा नम्बर ६ सम्म हेर्ने जिम्मा पाएका छन् । यस हिसबाले पनि वडा नम्बर ४ पीडित मल्लको क्षेत्रमा नपर्ने देखिएको छ ।घटनाको नेपाल इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशले भत्र्सना गरेको छ ।

प्रदेश सभापति ई. सोनालाल यादवले विज्ञप्ति जारी गर्दै इन्जिनियरले आफ्नो मूल्य, समय र सीप देशको विकासमा खर्चिएको अवस्थामा यस्ता खाले घटना क्षम्य नहुने बताइएको छ । साथै, दोषिमाथि कारबाही र कार्यक्षेत्रमा खटिने प्राविधिकको सुरक्षाको समेत माग गरिएको छ ।