कर्णालीका एमाले सांसदको पुनर्बहालीविरुद्धको भ्याकेटको सुनुवाइ इजलासमा

काठमाडौं,कर्णालीका प्रदेश सभा सदस्यको भ्याकेट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ । कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा ९एमाले०ले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछि एमालेले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको थियो ।

सर्वोच्च अदाललते जेठ २७ कर्णाली प्रदेश सभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटिलाई नहुने ठहर गरिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो । उनीहरूलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको थियो ।

प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई कारबाही गरेका थिए । यी चारैजना सांसद माधवकुमार नेपालपक्षका हुन् ।