मेलम्चीका बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

राहत वितरणमा लफडा

मेलम्ची,राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाएका थिए। स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिएका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्‍यो। विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले अनलाइनखबरलाई बताए ।मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताउँछन् ।

‘वडाध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘विवरण आएपछि पीडितलाई अस्थायी परिचय पत्र दिएर वितरण गर्ने तयारी छ ।’ त्यही कार्डको आधारमा विद्यालयबाट उनीहरुलाई आउजाउ गर्न पनि दिने उनले बताए । ‘भर्खर मनसुन सुरु हुँदैछ, कम्तिमा ३ महिना घर फर्किन सक्ने अवस्था छैन,’ उनले थपे, ‘त्यही भएर व्यवस्थित गर्न खोजिएको हो ।’ अब जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गरिने प्रजिअ पोखरेल बताउँछन् ।