वनको कर्मचारी भन्दै ठगी गर्ने दुईजना पक्राउ

विराटनगर,वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ परेका छन्। फर्निचर उद्योगहरुमा वनको कर्मचारी भएको र रकम नदिए राम्रो नहुने भन्दै चेतावनी दिने दुईजनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुाि। ती व्यक्तिहरु वन कार्यालयमा तेल सहयोग गर्नुहोस् भन्दै फर्निचर उद्योग पुगेका उनीहरुले सहयोग नगरे अप्ठेरो पर्ने चेतावनी दिँदै आएका थिए ।

उनीहरुले मोरङका २५ वटा मिलमा ठगी गरेको देखिएको र उनीहरुको साथबाट पत्रकार परिचयपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ। रतुवामाई नगरपालिका–१० मा पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको माईबेनी स–मिलमा पुगेका उनीहरुलाई चन्दा उठाउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

पक्राउ परेका दधिराम चौहानको साथबाट २५ हजार ९ सय ९५ र पुष्पप्रसाद सिग्देलको साथबाट ७ हजार रुर्पैयाँ नगद बरामद गरिएको प्रवक्ता राईले बताए।उनीहरुको साथबाट सृष्टि साप्ताहिक, सन्देश दैनिक समाचारपत्र लेखिएको रसिद प्याड, चन्दा उठाएको रकम अभिलेख भएको डायरी, कान्तिपुर पोष्ट, जनमत साप्ताहिक र बराह साप्ताहिकबाट जारी भएको परिचयपत्र बरामद भएको र बरामद भएका पत्रकार परिचयपत्रहरूको म्याद सकिएको राईले जानकारी दिए ।पक्राउ परेका उनीहरुलाई ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।