गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

काठमाडौं,गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभा बैठकमा पोखरेलले विश्वासको मत दिइयोस् भनी राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

प्रदेशसभामा रहेका कूल ५९ प्रदेशसभा सदस्यमध्ये सभामुखबाहेक ५८ जना मतदानमा सहभागी थिए । नेकपा एमालेबाहेक सबै दलले पक्षमा मतदान गरेका थिए। नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलले नेकपा माओवादी केन्द्र,राष्ट्रिय जनमोर्चा,जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (५) बमोजिम जेठ २९ गते नियुक्त भएका हुन् । उनले ४ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२)अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।