बनेपामा आमा छोरानै मृत भेटिए

बाबु अचेत अवस्थामा

काभ्रे,काभ्रे जिल्लाको बनेपामा आमा–छोरानै मृत र श्रीमान अचेत अवस्थामा भेटिएका छन् । पाँचखाल नगरपालिका–६ स्थायी घर भई बनेपा–११ स्थित् सिनागालमा डेरा गरी बस्ने आमा–छोरा मृत र महिलाका श्रीमान् अचेत अवस्थामा फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले ३० वर्षीय मनिषा कार्की घिमिरे र उनको ६ वर्षीय छोरा युवान घिमिरे मृत अवस्थामा भेटिएको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मृतक महिलाका श्रीमान् ३३ वर्षीय माधवप्रसाद घिमिरे भने अचेत अवस्थामा भेटिएका छन् । ‘घट्नाको प्ररम्भिक अवस्था हेर्दा माधवप्रसाद घिमिरेले श्रीमती र बच्चालाई विष खुवाएपछि आफूले पनि सेवन गरेको देखिन्छ,’उनले भने, ‘घट्नाका बारेमा थप अनुसन्धान भइरहेको छ।’प्रहरी निरीक्षक कोइरालाका अनुसार उनीहरु बस्ने डेरामा औषधि तथा विषादी फेला परेको छ। त्यस्तै, मृतकहरुको शरीरमा कुनै चोटपटक देखिए पनि मेडिकल रिर्पोटमा तीनै जनाको शरिरमा विषादी देखिएका छन्।

अचेत अवस्थामा भेटिएका माधवप्रसाद घिमिरेलाई अनुसन्धानका लागि बनेपास्थित् शिर मेमोरियल अस्पताल प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ। घिमिरे परिवारले बनेपाको नाला दोबाटोमा पसलसमेत चलाउँदै आइरहेका छन्।आफन्तका अनुसार डिप्रेसनको औषधि खाँदै आएका माधवप्रसाद र उनका श्रीमतीबीच पारिवारिक तथा अन्य विषयमा केही समयदेखि खटपट हुँदै आएको खुलेको छ।