कुशे पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिए

जाजरकोट, जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिएका छन्। जलजला पाटनमा पशुचौपाया छोड्न गएका कुशे गाउँपालिकाका ७ जनालाई प्रहरी र स्थानियले सकुसल फेला पारेका हुन्।  मंगलबारदेखी उनिहरु भारी बर्षा र हावाहुरीका कारण बेपत्ता भएका थिए । गाई, भैंसी, भेडा र बाख्रा लिएर जलजला पाटन पुगेका उनिहरुलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी र सोही गाउँपालिकाका स्थानीयले उनीहरुलाई भेटाएका थिए । चिसोले कठ्याग्रीएको अवस्थामा फेला परेका कारण उनिहरुलाई आगो बालेर तताउने र आवश्यक खाना खुवाउने काम भएको डिएसपी मधुकुमार थापाले जानकारी दिए। मंगलबारदेखि हराईरहेका कुशे गाउँपालिका ८ र ९ औलरिजाका ३५ बर्षिय दिल बहादुर खड्का, २५ बर्षिय बिक्रम खड्का, २८ बर्षिय चन्द्रा खड्का, १८ बर्षिय भबिन्द्र खड्का, १२ बर्षिय मिम खड्का, १७ बर्षिय धनसरा खड्का तथा वडा नं ९ का ४० बर्षिय कृष्ण रोकाय शुक्रबार बिहान मात्र भेटिएको डिएसपी थापाले बताए।

चिसोका कारण र खाना नखाएको कारण उनिहरुको अवस्था कमजोर भएको र उनीहरुलाई जलजला पाटनमै प्राथमिक उपचार गर्न थालिएको प्रहरीले बताएको छ ।  उपचार गरेर अवस्था सामान्य भए गाउँमा ल्याउने तयारी भईरहेको स्थानिय तथा प्रहरीले बताए।