कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरको परिषद् बहिष्कार

काठमाडौं,नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेको छ।महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन्।

काठमाडौं महानगरपालिकाको नगरपरिषद् आज ११ बजे राष्ट्रियसभामा बोलाइएको थियो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्‍मा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन्।

‘नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटो छलिएको छ । महानगरवासीलाई निस्शुल्क खोप दिने , कर घटाउने लगायतका हाम्रो प्रस्तावलाई बाइपास गरिएकोले नगरपरिषद् बहिष्कार गरेका हौं’, उपप्रमुख खड्गीले नेपाल प्रेससँग भनिन्।नगरपरिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरु समेत रहेका छन्।

नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ।‘कार्यपालिकाबाट पारित भएको कार्यक्रममात्रै नगरपरिषदमा पेश गर्ने कानूनी व्यवस्था उल्लघंन भएको छ । बहुमतको बलमा महानगरवासीलाई अपमान गर्ने काम भएकोले हामी बहिष्कारमा उत्रिएका हौं’, काठमाडौं महानगरको १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालले भने।

कांग्रेसका जनप्रतिनिधिहरूले महानगरवासीलाई सञ्चित कोषबाटै कोरोनाविरुद्धको खोप खरिद गरेर उपलब्ध गराउनुपर्ने , वीर अस्पतालको कोभिड विशेष अस्पताललाई महानगरकै अगुवाईमा क्रियाशील बनाउनुपर्ने , करको दायरा बढाएर कर कम गरी जनतालाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।