पशुचौपाया लिएर पाटन गएका कुशेका सातजना बेपत्ता

८३ भन्दा बढी पशुचौपाया मरे

जाजरकोट,निरन्तर बर्षाका कारण कुशे गाँउपालिका वडा नं ८ का ७ जना स्थानीय बेपत्ता भएका छन्। गाइ, भैसी, भेडाबाख्रालाई पाटन छोड्न जलजला लेक गएका ७ जना बेपत्ता भएका हुन्। भारी बर्षा, हाँवाहुरी र चट्यागंका कारण जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० भन्दा वढी बाख्रा लगाएतका पशु चौपाय मरेको कुशे गाँउपालिका पशु पंक्षी शाखाले जनाएको छ।

घटनास्थल तर्फ बेपत्ता भएका ब्यक्तिहरुका आफन्त खोजी कार्यमा पुगेपनि अझै सम्म भेटाउन नसकिएको जनाइएको छ।जेठ ३१ गते पशु चौपाय छोड्न लेक पाटन गएका ११ जना स्थानीय गोठाला मध्य ४ जना फर्किन सफल भएको र बाकी ७ जना वेपत्ता भएको खवर आए लगत्तै खोजि कार्य भैरहेको स्थानियले बताए। मंगलबार बेलुकादेखि जलजला पाटनमा बेपत्ता भएका सातजना अहिलेसम्म सम्पर्कमा नरहेका जाजरकोटका डिएसपी मधु थापाले बताए।

बेपत्ता हुनेहरुमा कुशे ८ का ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खडका, २८ का चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीय धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका डिएसपी थापाले बताए। पाटनमा हावाहुरीबाट ज्यान बचाउन सफल चारजना भने सम्पर्कमा आएका प्रहरीले जानकारी दिएको छ। सम्पर्कमा आउनेहरूमा ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गंगा खड्का रहेका छन्।

कुशे गाउँपालिकाको सबैभन्दा अग्लो पाटनको रुपमा यसलाई लिइन्छ। वर्षायाममा यहाँका सर्वसाधारण पशुचौपाय चरिचरणका लागि यस क्षेत्रमा जाने गर्छन्। जिल्ला प्रहरी कार्याय जाजरकोटका सुचना अधिकारी तथा प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार प्रहरी इन्सपेक्टरको कमाण्डमा टोली खोजिका लागि पाटन तर्फ प्रस्थान गरिसकेको र घटना भएको ठाउमा दुई दिन पैदल जान लाग्ने भएकोले अझै खवर केहि आउन नसकेको उनले वताए । उक्त क्षेत्रमा टेलिफोनको कुनै नेटवर्कले काम नगर्ने भएकोले खवर बुधवार मात्रै प्राप्त भएको हो ।