कोरोना कहरः ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको तयारी

कस्तो हुन्छ स्मार्ट लकडाउन

काठमाडौँ,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ।

जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ।प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसिया जस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

यी देशबाट हप्तामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टीनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टीनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।गैरआवासीय नेपालीबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताए ।कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र आगामी साउनदेखि लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकाले खोपको अभाव क्रमशः हल हुँदै जाने उनले बताए ।

कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए ।