छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी,कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्।१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । परिवारका सदस्यले दाह संस्कारको तयारी गरिरहेको बेला इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

‘जबरजस्ती गरेको पोल खुल्ने डरले बुवाले नै गोठमा झुण्ड्याएर हत्या गरेर आत्महत्या गरेजस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा देखियो,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने ।बालिकाको बुवालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।