अहंकार त्यागेर पार्टी फुटबाट जोगाऔंः झलनाथ खनाल

काठमाडौं,स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अनुरोध गरेका छन्।‘एकता सफलताको बाटो हो भने फुट विनासको।

त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु,’ बुधबार दिउँसो वक्तव्य जारी गर्दै उनले भनेका छन्।वरिष्ठ नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएकोले देशको समस्या समाधानका लागि एकजुट हुन सबै दल र नेतालाई आहृवानसमेत गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्छ । सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु ।’स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल सोमबार मात्रै थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए।खनाल थप उपचारका लागि आज भारतको नयाँ दिल्ली जाँदैछन् ।