बाढीले तहस नहस पारेको मेलम्ची

सिन्धुपाल्चोक,बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन्।तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको थियो।

मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् ।मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको स्थानीय जनप्रतिनिधिले बताए।बाढीले कृषि भवन,आयुर्वेद भवन,कभर्ड हल,सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन्।दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् ।

अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन्। खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिरएको छ।स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।