नाइँ मलाई त्यही केटी चाहिन्छः महान्यायाधिवक्ता खरेल

काठमाडौं, प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस चलिरहेको छ ।सोमबारबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । मंगलबार पनि बहसलाई निरन्तरता दिँदै महान्यायाधिवक्ता खरेलले संवैधानिक इजलासमा नाइँ मलाई त्यही केटी चाहिन्छ बोलको गीत सुनाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरुको जिकिरसँगै तुलना गर्दै खरेलले यो गीत सुनाएका हुन् ।

बाबुआमाले आफ्नो छोरालाई हुर्काइ–बढाइ गरेर विवाहका लागि योग्य बनाउँछ तर उसले यो गीतको बोलझैं आफूले मन पराएको त्यही केटी चाहिन्छ भनेर जिद्दी गरेजस्तो उहाँहरुलाई त्यही प्रतिनिधिसभा किन चाहिएको हो रु’ खरेलले भने । उनले ताजा जनादेशमा गएर अर्को प्रतिनिधिसभा गठन गर्न किन नमिल्ने भन्दै प्रश्नसमेत गरेका छन् ।

यसअघि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले माघ १५ गतेको संवैधानिक इजलासमा बहसको क्रममा अन्जु पन्तको ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीत गुनगुनाएका थिए । पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै घिमिरेले हाल उक्त गीत प्रधानमन्त्रीको लिखित जवाफमा गरेको परम्पराका कुरासँग तुलना गरेका थिए ।महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन् ।

महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट पारे । सरकारका प्रमुख कानूनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको जनाए ।

पहिलो र दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि मन्त्रिपरिषद्को निर्णयबाटै भएको स्मरण गराउँदै उहाँले अहिले पनि मन्त्रिपरिषद्कै निर्णयबाट विघटन भएको बताए। “रिट निवेदनमा राष्ट्रपतिको भूमिका असंवैधानिक भएको भन्ने प्रश्न उठाइए पनि जनतामा जाने राष्ट्रपति नभई प्रधानमन्त्री नै हो”, उनले भने, “विघटन भएको प्रतिनिधिसभा फेरि ब्युँतिने अवस्था छैन, प्रतिनिधिसभा मरेको नभई निर्वाचनमा जान मात्र विघटन गरिएको हो । ” उनले बनेको सरकारलाई काम गर्न नदिई प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि कसरी काम गर्ने भन्ने प्रश्न गर्दै यस्तो अवस्थामा विघटनको विकल्प नभएको तर्क राखे ।