राजनीतिद्वारा के सिकाउनु पर्नेमा के सिकाइयो

एकदिन एकजना शिक्षकले आफ्ना विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने अभिप्रायले गधाको अगाडि एउटा डेक्चीमा पानी र अर्को डेक्चीमा रक्सी राखेर पिउन दिएछन् । गधाले पानी त पियो तर रक्सी ज्यान गए पिउन मानेन । यो दृश्यपछि शिक्षक कक्षाका विद्यार्थीलाई सोध्छन्,- ‘यसबाट तिमीहरुले के शिक्षा पायौ ?’
विद्यार्थीको एकमुष्ट जवाफ आएछ, – ‘जसले रक्सी खाँदैन, त्यो गधा हो।’

अन्यथा अर्थ नलागेमा नेपालको राजनीति आज जनताले त्यहीँ रूपमा बुझेका छन् या सिकेका छन्।कतिपयले जुन राजनीतिज्ञ फन्टुस गफ गर्दैन, त्यो नेता नै हैन सम्म भन्छन्। कतिपयले यतिका वर्ष राजनीतिमा लागेर आफ्नो जाबो एउटा घर बनाउन सकेको हैन, त्यसै नेता भएको छ, भन्छन्। कतिपयले यस्तो सानो पार्टीमा लागेर जिन्दगी गयो खै कहिले सांसद मन्त्री हुने होला पो भन्छन्।

अब भन्नुहोस्,हामीले राजनीतिद्वारा जनतालाई के सिकाउनु पर्नेमा के सिकाइ रहेका छौं। आज समाजले राजनीतिमा लाग्ने भनेको धन पैसा कमाउन, घर बंगला बनाउन, मोटर कार चढ्न, व्यक्तिगत पद प्रतिष्ठा कमाउन हो भन्ने शिक्षा प्राप्त गरेको छ। त्यसको लागि वडा या गाउँ अध्यक्ष, मेयर, सांसद र मन्त्री बन्ने होडबाजी चल्ने गरेको छ। कर्मचारी सर्कलमा पनि कुन पार्टीको कछाडको फेर समातेर राम्रो राम्रो ठाँउमा आफुलाई सेटल गर्न सकिन्छ, त्यहीँ पार्टीको पछि लाग्ने चलन छ। त्यो भन्दा पनि अझै खतरापूर्ण अवस्था त के छ भने सामान्य जनताले त राजनीति जे जस्तो गलत बुझ्यो बुझेकै छ तर ठुल्ठुला नेतृत्व र पार्टीले समेत राजनीतिलाई कमाइ खाने भाडो बनाएको पाइन्छ। पद, प्रतिष्ठा, चीजवस्तु हुँदै अब विचारको समेत दलाली झन्झन् फस्टाउँदो छ।

यस प्रकारको गलत तरिकाले बुझ्ने सिक्ने छाप कम्युनिस्ट आन्दोलनको राजनीतिमा समेत परेको छ। अहिले कम्युनिस्ट आन्दोलनमा समेत उचित प्रशिक्षणको अभाव छ। कम्युनिष्ट पार्टीमा पढ्ने पढाउने चलन हुन्छ। पार्टीमा आफूले अध्ययन गर्ने मात्र होइन, आफूले जाने सिकेका कुराहरू नेता कार्यकर्तालाई पनि सिकाउने प्रचलन थियो र छ। यस्तो सिक्ने र सिकाउने तरिकालाई कम्युनिष्ट पार्टीमा प्रशिक्षण भनिन्छ। मार्क्सवादी सिद्धान्त, कम्युनिष्ट विश्वदृष्टिकोण, दर्शन, इतिहास, संगठनात्मक सिद्धान्त, आर्थिक, राजनीतिक तथा समसामयिक आदि थुप्रै विषयमा निरन्तर प्रशिक्षणको आवश्यकता पर्दछ।

अहिलेसम्म हाम्रो कम्युनिस्ट आन्दोलनमा जे जति प्रशिक्षण चलेका छन् ती प्रायः अपुर्ण प्रशिक्षण चल्ने गरेका छन्। प्रशिक्षण सिकाउनका लागि मात्रै होइन, सिकेका र सिकाइएका कुराहरु व्यबहारमा लागु गर्नका लागि हो। जबसम्म सिकेका र सिकाइएका कुराहरू व्यबहारमा लागु गरिन्न तबसम्म त्यो प्रशिक्षण अपुर्ण नै रहन्छ। कम्युनिस्ट आन्दोलनमा जुन कुरा सिकाइन्छ या सिकिन्छ त्यो व्यबहारमा समेत लागु भयो भने मात्रै त्यो पुर्ण प्रशिक्षण हो। जुन आजसम्म सफल भएको छैन। आज हामीले त्यहीँ भोगिरहेका छौं। त्यसकारण प्रशिक्षणले कम्युनिस्ट नेता कार्यकर्ताको विश्व दृष्टिकोणको निर्माण तब भएको मानिन्छ जब उसले दिइरहेको प्रशिक्षणको ज्ञान् या तत्व स्वयं प्रशिक्षकले आफ्नो दैनिक जीवनको व्यबहारमा लागु गर्न सकेको होस्। तर त्यो अवस्था छैन। अहिलेसम्म त्यो अवस्थाको बिकास हुन नसक्नु दु:खद कुरा हो। कम्युनिस्ट आन्दोलनमा पहिले पहिले जुन प्रकारले नेता कार्यकर्ताले किताब, पत्रीका तथा पाठ्यसामग्री किनेर संग्रह गर्ने र स्व-अध्ययन गर्ने गरिन्थ्यो अहिले त्यो घटेर गएको स्वयं कम्युनिस्ट नेताहरू स्वीकार गर्छन्।

राजनीतिक पार्टीका दर्शन, विचार र सिद्धान्त हुन्छन् । यसका कार्यपद्धति हुन्छन्। अनुशासन हुन्छ। यी सबैको ज्ञान आफ्नो पार्टीका कार्यकर्ताहरूलाई दिनु प्रशिक्षण हो। यही माध्यमबाट कुनैपनि पार्टीले आफ्नो दर्शन, सिद्धान्त विचार, कार्ययोजना कार्यकर्तालाई र पार्टी सदस्यलाई बुझाउनुपर्छ। उनीहरूले बुझेपछि विचार मासमा पुग्छ । कार्यकर्ताले नै पार्टीको दर्शन, विचार, सिद्धान्त जनतामाझ बुझाउँछन् । यो कुरा राजनीतिक पार्टीको नेतृत्वले पनि हेरिराख्छन्। हेर्नु पनि पर्छ। तर विडम्बना यो छ कि जुन जुन कुरा कार्यकर्तालाई प्रशिक्षण दिइन्छ। त्यहीँ त्यहीँ कुरा प्रशिक्षण दिने नेताहरू या नेतृत्वले स्वयं आफ्नो जीवनको व्यबहारमा लागु गरेको देखिन्न। अनि यसको असर जनताको बुझाइमा पर्छ। त्यो स्वभाविक नै हो। त्यस क्रियाकलापले जनताले राजनीतिलाई बुझ्ने प्रक्रियालाई नै विकृत बनाउने गरेको छ।

समाजका अन्य सदस्य या पार्टी सदस्यलाई आफ्नो पार्टीको दर्शन, विचार, सिद्धान्त बुझाउने काम नेता कार्यकर्ताले गर्छन। तर जनताले त्यो दर्शन, विचार र सिद्धान्त स्वयं नेता कार्यकर्ताले व्यबहारमा लागु गरे नगरेको जाँचबुझ गर्छन्। उनीहरुले त्यस्तो व्यबहार पाउदैनन्। अनि जनतालाई उनीहरुको राजनीति प्रति वितृष्णा उत्पन्न हुन सुरु गर्छ। जस्तै: कम्युनिस्ट दर्शनमा विभेदमा आधारित र रुढीबादी संस्कार अपनाउन हुँदैन, यसलाई विस्तारै परिवर्तन गर्नुपर्ने हुन्छ भनेर कार्यकर्ता र जनतामाझ प्रशिक्षण दिइन्छ। तर जुन प्रशिक्षण दिने नेता या कार्यकर्ता हो स्वयं उसैले त्यो व्यबहारमा अपनाउन नसकेको कुरा जनताले देखिरहेकै हुन्छन्। पुजाआजा गर्नु व्यर्थ हो भन्ने सिकाउछ्न् तर आफैं पुजाआजा गर्छन्। शोषणमा आधारित कर्मकाण्ड गर्नुहुन्न, प्रगतिशील संस्कार अपनाउन पर्छ भन्ने प्रशिक्षण दिन्छन् तर आफैंले कन्यादान गर्छन्, मर्दा पर्दा कपाल मुण्डन गरेर किरिया कर्म समेत गर्छन्। परिवार पार्टीकरण गर्ने प्रशिक्षण दिन्छन् तर आफ्ना छोराछोरीलाई राजनीति सिकाउन पहल नै गर्दैनन्।

कार्यक्रममा भाषण गर्दा शोषण, दमनको विरोध गर्ने गरिन्छ तर व्यबहारमा समाजमा आफैले अरुको शोषण दमन गरिरहेका हुन्छन्। गोष्ठीमा महिला र बालबालिकाको हक अधिकारका ठुल्ठुला कुरा गर्ने गरिन्छ तर नेता कार्यकर्ताले आफ्नै घरमा महिला र बालबालिकाको श्रम शोषण भएकोमा सुधार गर्न सक्दैनन्। अब पार्टी भित्रकै कुरा गरौं। पार्टीको आर्थिक हिसाबकिताब पारदर्शी र नियमित प्रकारले राख्न प्रशिक्षण दिइन्छ तर नेतृत्व वा केन्द्रिय समितिले नै हिसाबकिताब पारदर्शी रूपमा राख्दैन। पार्टी अनुशासन कडाइका साथ लागु गर्नुपर्ने प्रशिक्षण दिइन्छ तर नेतृत्व र केन्द्रिय समितिले आफैले पारित गरेको विधान कुल्चेर मनपरि गरिन्छ। नेताहरूको जीवन पारदर्शी हुनुपर्छ भन्ने प्रशिक्षण दिइन्छ तर कार्यकर्तालाई आफ्नो नेतृत्व कसरी बसेको छ, के गर्छ, कस्तो जीवनशैली अपनाउछ केहि अत्तोपत्तो हुन्न आदि इत्यादि। यसरी आजसम्म जुन अपुर्ण प्रशिक्षण दिने गरियो, जसको कुनै अर्थ छैन। त्यसैले पार्टी कलासमा प्रशिक्षण दिइएका सम्पुर्ण शिक्षा पार्टीका नेता कार्यकर्ताले व्यबहारमा लागु गर्नु जरुरी छ।

राजनीतिक दलहरू चुनाव आउँदा भोट माग्न राम्रा राम्रा नीति कार्यक्रमले घोषणापत्र भरिभराउ गर्छन्। जितेर सरकार बनाइसके पछि ती नीति कार्यक्रम लागु हुदैनन्। उल्टो नेताले राष्ट्रको ढुकुटी रित्तो पार्छ, अनि अपच हुने गरी खान्छ, त्यो पनि गरिब जनताको नाममा। ऐस आराम, भोगविलास उसलाई चाहिन्छ, निहुँ बनाउँछ,- जनताको। नेता भ्रष्टाचार गरेर अपराधी करार हुन्छ। जेल जान्छ अनि सत्ता शक्तिको पहुँचमा छुट्छ। त्यहीँ भ्रष्टाचारी नेता जेलबाट छुट्ने बेला समेत तीन सय किलोको फूलको माला लिएर स्वागतको लागि तैनाथ हुने जमात समाजमा तयार छ। सचेत नागरिकलाई हिजो राजालाई खेदेर आज सयौं राजा गद्दीमा उक्लेको अनुभुती भएको हुनुपर्छ। हिजोका राजावादीहरु आजको गणतन्त्रका पहरेदार भएका छन्। विशुद्ध गणतन्त्रवादीहरुका लागि गणतन्त्रको विछ्यौना बिझाउन थालेको छ। राजाको विरोध गर्दागर्दै राजा हुने अभिलाषा पलाएकाहरुका लागि गणतन्त्र रातो कार्पेट भएको छ। कोहि आफुलाई देशको राजा ठान्छन् त कोहि राजनीतिक दलभित्रको राजा।

अरु त अरु देशका सम्माननीय कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति नै रिसर्च गर्नेका लागि विषय हुन सक्छन् । उहाँलाई ‘म नै राज्य हुँ’ भन्ने ठूलो भ्रम छ। यस्तै सिको र चिन्तन प्रायः सबै पार्टीहरुका नेतृत्वमा रहेको छ, – ‘म नै सबैथोक हुँ, म विना पार्टी चल्दै चल्दैन।’ भन्ने प्रवृत्ति रहेको छ। उदाहरणका लागि प्रधानमन्त्री जस्तो गरिमामय पद धारण गरेको व्यक्तिले रत्नपार्कमा आयुर्वेदिक औषधि बेच्नेको भन्दा हल्का ढंगबाट सम्मानित संसदमा बेसार पानीले कोरोना भगाउने सन्देश प्रवाह गर्दा त्यसमा तगारो लाउने हिम्मत कसैमा छैन। बेसार पानी अचुक औषधि हुने भए अमेरिका र युरोपका सम्पन्नशाली मुलुकका ती शासकहरु डाँको छोड्दै किन रोएर सडकमा निस्कन्थे होलान्? नर्सरी पढ्ने बच्चाले पनि नपत्याउने भाषण गर्दा टेबल ठोक्ने माननीयहरुलाई बेलुकी घर फर्कंदा उनीहरुकै सन्तानले कति खुच्चिङ गर्दा हुन्? मानिसले अरुलाई ढाँटेपनि आफूलाई ढाँट्न त अवश्य नसक्ला। अरुलाई चिन्ने त प्रशस्तै भेटिए, आफूले आफैंलाई चिनेका दिन त्यो मानिस महामानवमा परिणत हुन्छ। यो चिन्तन र प्रवृत्ति प्रायः धेरै जसो राजनीतिक दलको नेतृत्वमा रहेको छ।

दलमा आवद्ध नेता कार्यकर्ता समेत पार्टी र नेतृत्वको गलत नीति र प्रवृत्तिलाई समेत गलत भन्ने आट राख्दैनन्। बरु पद प्रतिष्ठाको र व्यक्तिगत फाइदाका लागि नेतृत्वको वरिपरि घुम्न, चाकरी र चाप्लुसी गर्न होडबाजी गर्छन्। सत्ता र शक्तिको आडमा खानी र खोला लुट्ने, ठेक्का पट्टा लिने गर्छन्। नाजायज तरिकाले वैदेशिक रोजगारमा हात हाल्ने गर्छन्। त्यसबाट पैसा कमाइन्छ। पैसा कमाए पछि पद पाइन्छ। पद भएपछि पुनः पैसा कमाइन्छ भन्ने बुझेका छन्। राजनीति प्रतिको यो बुझाइ धेरै विकृत र खतरापूर्ण छ। त्यही भएर पार्टीहरूमा साचो प्रशिक्षण छायाँमा पर्दै गएको छ। फरक मत राख्ने र निस्वार्थ राजनीति गर्नेहरुको उछितो काटिन्छ।

अब राजनीतिबाट के सिक्नुपर्नेमा भावी पिंढीले के सिक्ने, के बुझ्ने ? प्रश्न गम्भीर छ। राजनीति भनेको पैसा खर्च गरेर चुनाव जित्ने, अध्यक्ष, मेयर, सांसद र मन्त्री बन्ने अनि सकेसम्म बढी पैसा कमाउने भन्ने बुझाइ भएकाहरु नै अत्यधिक मात्रामा जनप्रतिनिधिमा चुनिएका छन्। यसले देशको समाजको दिशा कतातिर निर्धारण गर्ने हो। यो सबै राजनीतिक विकृति भनेको विभिन्न राजनीतिक दलका नेतृत्वको व्यक्तिवादी चिन्तन र दलाल पुँजीवादी राज्यप्रणालीको उपज हो। त्यसैले जनताले राजनीतिलाई कक्षाका विद्यार्थीले बुझे झैं ‘जसले रक्सी खाँदैन, त्यो गधा हो।’ भन्ने ढंगले बुझ्न बाध्य छन्। राजनीतिलाई जनतामाझ सहि ढंगले बुझाउन आज दलाल पुँजीवादी राज्यप्रणाली विरुद्धको कार्यनीति र प्रशिक्षणको खाचो परिरहेको छ।

२०७७ – ०५ – १७